काठमाडौँबाट बीपी राजमार्ग हुँदै झापातर्फ जाँदै गरेको कार आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौँबाट जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आज बिहान ६ बजेतिर बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ पिपलभञ्ज्याङभन्दा ३ घुम्तीमाथि दुर्घटना भएको हो।
दुर्घटनामा काठमाडौँको गौरीघाट बस्ने सिन्धुलीकै कपिलाकोट–३ की ४२ वर्षीया सहारा प्रसाईं र झापा सुरुङ्गा–४ का ४२ वर्षीय कुमार पुरीको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। पुरी कार चालक हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका प्युठानको प्युठान नगरपालिका-८ घर भएका ३२ वर्षीय योगेन्द्र थापालाई उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिए।
घाइतेका दुवै खुट्टा र हातमा चोट लागेको र अवस्था गम्भीर (बेहोस) रहेको प्रहरीले जनाएको छ।
रातो ग्रेटवाल कार आफैँ अनियन्त्रित भई सडकबाट बायाँतर्फ अन्दाजी २० मिटर तल भीरमा खसेको प्रहरीले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया