ad ad

समाज


आगलागीका घाइतेको निशुल्क उपचार गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको पत्र

आगलागीका घाइतेको निशुल्क उपचार गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको पत्र

नेपालखबर
जेठ २, २०८० मंगलबार १६:४६, काठमाडौँ

दैलेखको आठबीस नगरपालिका–६ स्थित वनमा आगलागीमा परी घाइते भएकालाई निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ।

मंगलबार मन्त्रालयले काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल र नेपालगंजस्थित नेपालगंज मेडिकल कलेजलाई पत्राचार गरेको हो।

गत वैशाख २७ गते आठबीस नगरपालिका–६ को माल्यबुढा पहाड सामुदायिक वनमा आगलागी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको बाटो निर्माणमा खटिएका १२ मध्ये १० जना कामदार घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा भैरव विक रहेका छन्।

हाल घाइते प्रज विक, बसुन्धरा विक, नविन विक, नैना विक र जौकला विकको कीर्तिपुर बर्न अस्प्तालमा उपचार भइरहेको छ।

यस्तै, मोतिराम विक र छत्रा विकको नेपालगंजस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

मन्त्रालयले गरेको औषधोपचार सम्बन्धी पत्राचारमा भनिएको छ, ‘घाइतेको आर्थिक अवस्था एकदमै न्यून भएकाले निःशुल्क उपचारका लागि माग भएबमोजिम स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ बुँदा नम्बर ७० (घ) अनुसारको औषधोपचारको व्यवस्था गरिदिनुहुन निर्देशानुसार अनुरोध छ।’

मापदण्डको बुँदा नं. ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेबारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत छुट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने उल्लेख छ।

आगलागीमा घाइते भएकाको निःशुल्क उपचारका लागि दैलेखबाट निर्वाचित सांसद दिक्पालकुमार शाही, सूर्यकुमारी श्रेष्ठ र सीताकुमारी रानाले संसद बैठकमा सरकारसँग माग गरेका थिए। सांसदहरुले घाइतेको निशुल्क उपचार गरिदिनुपर्ने माग गर्दै मन्त्रालयलाई पत्राचारसमेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .