ललितपुर महानगरले पाटन अस्पतालमा शवगृह विस्तार गर्नका लागि आर्थिक सहयोग गरेको छ।
ललितपुर महानगरले शवगृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख सहयोग गरेको हो। महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्राडा रवि शाक्यलाई चेक हस्तान्तरण गरे।
यसका साथै कार्यक्रममा शवगृह विस्तार गर्ने सम्बन्धमा ललितपुर महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर समेत भयो।
महानगर प्रमुख महर्जनले महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। कोरोनाको बेलामा महानगरको सहयोगबाट पाटन अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट धेरैजना लाभान्वित भएको बताए। पाटन अस्पतालको आवश्यकता पहिचान गरेर शवगृह विस्तारको लागि सहयोग गरेको उनको भनाई थियो।
पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्राडा रवि शाक्यले पाटन अस्पतालमा रहेको ४ वटा मात्रै शव राख्न मिल्ने शवगृहमा २० वटाभन्दा धेरै शव राख्नु परेको बाध्यता सुनाए। उनले भने,
‘अस्पतालकै, बाहिरबाट केही दिन राखिदिनुस् न भन्दै आउने अनुरोध र बेवारिसे लाशले गर्दा अहिलेको शवगृह भरिभराउ भइरहेको छ, लाश खप्टेर राख्नु पर्ने बाध्यता छ।’
शवगृह विस्तारपछि यो समस्याको अन्त्य हुने उनले बताए। लाश खप्टेर राख्दा नमज्जा लागेको सुनाउँदै उनले भने, ‘त्यसरी लाश राख्नु वैज्ञानिक पनि होइन।’
ललितपुर महानगरले अभिभावकको भूमिका निर्वाह गरेकोमा धन्यवाद दिँदै उनले खुशी व्यक्त गरे।
उपप्रमखु मंजली शाक्य बज्राचार्यले ललितपुर महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताइन्। अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताइन्।
यसैगरी महानगरले त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई पनि आर्थिक सहयोग गरेको छ।
ललितपुर महानगरले रक्त अनुसन्धान केन्द्र संचालन तथा रक्त सेवा प्रवाहका लागि सहयोग पुगोस् भन्दै केन्द्रलाई ५० लाख सहयोग गरेको हो। महानगर प्रमुख चिरीबाबु महर्जनले केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीलाई चेक हस्तान्तरण गरे।
यसका साथै कार्यक्रममा ललितपुर महानगर र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले महानगरबाट प्राप्त सहयोग प्रविधि विस्तारमा प्रयोग गरिने बताए।
Shares
प्रतिक्रिया