ad ad

समाज


यातायात व्यवस्था कार्यालय भक्तपुरले ट्रेनिङ सेन्टरलाई दियो परीक्षा अनुमति

यातायात व्यवस्था कार्यालय भक्तपुरले ट्रेनिङ सेन्टरलाई दियो परीक्षा अनुमति

सांकेतिक तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार १९:४५, काठमाडौँ

सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएको छ।

कार्यालयले आजदेखि लागू हुने गरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालीलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन गरेको हो।

यस्तो व्यवस्था गर्दा सम्बन्धित मन्त्रालयसँग छलफल एवं अनुमति लिएर नियमसंगत रूपमा कार्य गर्नुपर्नेमा कार्यालय प्रमुखले नियम विपरीत निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने अनुमति दिएर अनियमितता गरेको आरोप लागेको छ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई समेत कुनै जानकारी नै नदिई परीक्षाको अनुमति निजी क्षेत्रलाई दिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका सचिव अस्मान तामाङले लिखित परीक्षा निजी क्षेत्रलाई दिएका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताए।

उनले भने, ‘त्यसो गरिएको हो भने त्यो अनियमितता हो, त्यहाँका कार्यालय प्रमुखले बदमासी काम गरेका छन्, आफ्नो परीक्षा कार्यालय हुँदाहुँदै निजी क्षेत्रलाई दिनु बदमासी नै हो।’

मन्त्रालयका सचिव तामाङले आफ्नो कार्यालयमा परीक्षा सञ्चालन गर्दागर्दै निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्न दिने कुनै कार्यविधि नबनाएको समेत बताए।

कार्यालय प्रमुख शिवकुमार निरौलाले भने कार्यविधिबमोजिम निजी क्षेत्रलाई दिएको दाबी गरे।

उनले भने, ‘२०७८ भन्ने एउटा कार्यविधि छ, सवारी चालक परीक्षा, प्रयोगात्मक परीक्षा स्थल छनोट कार्यविधि, त्यहीअनुसार दिएका हौँ, प्रयोगात्मक परीक्षा सञ्चालन गर्नेले निःशुल्क परीक्षा हल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ, त्यहीबमोजिम दिएका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .