उनी भर्खर बाह्रतेह्र वर्ष पुगेकी थिइन्। गाउँमा उनी डाक्टरका रुपमा चिनिन्थिन्। बिरामी गाई, भैँसी, बाख्रा, आदिको उपचार गर्ने डाक्टर। त्यतिबेला उनले कहिल्यै सोचेकी थिइनन्, आफ्नो नामको अगाडि डा. लेखिनेछ।
तर, डा. जीवन रानाथारुले १६ जेठमा विद्यावारिधि (पीएचडी) पूरा गरेकी छन्। यससँगै रानाथारु समुदायबाट पीएचडी गर्ने पहिलो व्यक्ति बनेकी छन् उनी।
उनले नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङबाट पीएचडी उपाधि प्राप्त गरेकी हुन्।
धनगढी उपमहानगरपालिका–८ मा २०३४ सालमा परिवारको जेठी छोरीको रुपमा जन्मिइन् उनी। डा. जीवन ५० जना सदस्य भएको विशाल परिवारमा हुर्किइन्।
त्यो बेला नेपाली समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने गरिन्थ्यो त्यसमाथि पनि रानाथारु समुदायमा त पढ्नेहरुको संख्या निकै कम थियो। तर उनका बुबाआमाले आफूले नपढे पनि छोराछोरीलाई पढाउनै पर्छ भनेर उनलाई साढे दुई वर्षमै स्कुल पठाए।
आदिवासी जनजातिमा पर्ने रानाथारू निकै पछाडि परेको समुदाय भनेर पनि चिनिन्छ। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदायको शैक्षिक अवस्था सन्तोषजनक मानिँदैन। तर डा. जीवनले त्यही समुदायबाट ‘रानाथारुहरुको सामाजिक–सांस्कृति जीवन’ विषयमा अनुसन्धान गरेर पीएचडी उपाधि प्राप्त गरेकी छन्।
‘त्यो अध्ययनलाई मैले मेरो समुदायको ग्रन्थको रुपमा लिएको छु। त्यसमा रानाथारु समुदायको सम्पूर्ण कुरा समेटिएको छ,’ उनले भनिन्।
विशेष गरेर रानाथारु समुदायका तीन वटा कुरालाई बढी प्रथामिकता दिएकाले ग्रन्थ भनेको उनले बताइन्। रानाथारुको उत्पत्ति, सामाजिक, सांस्कृतिक अवस्था समावेश रहेको उनको भनाइ छ।
रानाथारु समुदायको चाडपर्व, भेषभुषा, संस्कृति कसैसँग मेल नखाने उनले तर्क छ। अध्ययन गर्दै जाँदा रानाथारुभित्र पनि १९ वटा जाति पाएको डा. जीवनले बताइन्।
आठ कक्षामा पढ्दा नै ‘डाक्टर’
धनगढी उच्च माविमा पढेकी उनलाई आठ कक्षामा छँदै एक महिने भेटेरीनरी तालिम लिने अवसर प्राप्त भयो। सो तालिम लिएपछि गाउँमा उनलाई डाक्टर भनेर बोलाउन थालियो। गाउँमा कसैको गाईभैँसी, बाख्रा बिरामी हुँदा उनलाई नै बोलाइन्थ्यो।
डा. जीवन कक्षामा सधैैँ दोस्रो वा तेस्रो हुन्थिन्। सोही स्कुलबाट एसएलसी दिएपछि उनलाई बुबाआमाले पढ्न काठमाडौँ पठाए।
‘कल्पना गर्न सक्नुहुन्छ, मेरो बुबाआमाले काठमाडौं देख्नु भएको थिएन तर मलाई काठमाडौंका् पद्यमकन्या कलेजमा पढेन पठाउनु भयो,’ उनी भन्छिन्, ‘कस्तो थियो होला उहाँहरुको सोच। बुबाआमा दुवै जना स्वर्गीय भइसक्नुभयो, तर उहाँहरुकै प्रेरणाले म यहाँसम्म पुगेँ।’
डा. जीवन रानाथारु समुदायबाट एसएलसी, स्नातक र डिग्री पास गर्ने पहिलो महिलासमेत हुन्।
उनी भन्छिन्, ‘मैले पढेकै कारणले गर्दा मेरा भाइबहिनी सबैले मास्टर्स गरेका छन्। अमेरिकामा भाइ विकास सिनियर साइन्टिस्टका रुपमा काम गरिहेको छ। एउटा बहिनी व्यापार गर्छ र अर्को बहिनी पढाइरहेको छ।’
डा. जीवनले इन्टर पढ्दै गर्दा बुबा आमाले बिहे गरिदिए। जीवनका बुबाले बिहेपछि पनि मेरो छोरीलाई पढाउनु पर्छ भनेकाले बिहेपछि पनि उनी घरभान्छामा मात्र सीमित हुनु परेन।
श्रीमानले पनि उनलाई धेरै सहयोग गरे। आर्थिक, भौतिक, नैतिक, मानसिक सहयोग सबै गरेकाले आज आफू यो स्थान सम्म पुग्न सकेको उनले बताइन्।
त्यस्तै, पीएचडी गर्नमा अप्रत्यक्षरुपमा राना थारु समुदायले पनि उनलाई सहयोग गरेको छ।
‘मेरो समुदायमा पीएचडी गर्ने अहिलेसम्म कोही पनि थिएन। रानाथारु समुदायको पहिचान के हो? कसैले सोध्दा पनि हाम्रो पहिचान यही नै हो भनेर भन्न सक्थेन। आफ्नो समुदायको पहिचान खोज्दै जाँदा मैले पीएचडी नै गरेँ,’ उनले भनिन्।
डा. जीवनका एक छोरा र एक छोरी छन्। उनीहरुको साथ र सहयोगले पनि आफूमा हौसला थपिने गरेको उनले सुनाइन्।
अथक मेहनत
अनुसन्धानका लागि उनले निकै मेहनत गर्नुप¥यो। रानाथारु समुदायबारे धेरै सन्दर्भ सामग्री थिएनन्। रानाथारुको पुर्खा खोज्दै उनी नेपालका धेरै जिल्ला पुगिन्। भारत पनि गइन्।
‘विद्यावारिधिको यात्रा कठिनै रह्यो,’ उनी भन्छिन्, ‘अथक मेहनत र प्रयासपछि मेरो रानाथारु समुदायले एउटा ग्रन्थ पाएको छ। मैले गरेको विद्यावारिधिलाई समुदायको ग्रन्थका रुपमा चिनाउन चाहन्छु।’
रानाथारुहरुको उत्पत्तिबारे दुई धारणा कायम छन्।
एकथरीले सन् १८६८ मा जंगबहादुराणले इस्ट इन्डिया कम्पनीबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाउँदा रानाथारु भूमिसँगै आएको भन्छन् भने अर्कोथरीले कैलाली र कञ्चनपुरमा औलो लाग्नुका साथै विषालु सर्पले टोक्ने भएकाले त्यहाँ कोही बस्न नसकेका बेला रानाथारुहरुले त्यहाँ बसेर तीसँग लडेर जमिनलाई संरक्षण गरेको हुनाले आफूलाई आदिवासी भन्ने गर्छन्।
भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि रानाथारुहरु छन्। उनीहरुले मुगल आक्रमणका बेला केही रानाथारु नेपाल पसेको बताएको उनले सुनाइन्।
अनुसन्धान झण्डै छाड्ने अवस्था पनि आइपरेको थियो।
‘परिवारको साथ भएतापनि एउटा महिलालाई धेरै कुराको जिम्मेवारी हुने रहेछ,’ उनी भन्छिन्, ‘समाज, परिवार, राजनीतिक जिम्मेवारी र जिन्दगीको उतारचढावले सकिन्न कि जस्तो पनि लागेको थियो। तर मैले सक्नु पर्छ भनेर अथक मेहनत गरेर आज यो उपाधि हासिल गरेँ।’
अझै महसुस हुन्छ विभेद
धनगढीलाई रानाथारुले नै बसाएको बस्ती भनिन्छ। डा. जीवन जन्मिएको गाउँमा धेरै रानाथारु नै बस्थे। कम संख्यामा थारु र बाहुनक्षत्री थिए। उनीहरुले गर्ने व्यवहार डा. जीवनलाई फरक लाग्थ्यो।
‘राना थारुहरुलाई थारु पनि भनिँदैन थियो। थरुवा भनेर हेपाहा लवजमा बोलिन्थ्यो,’ उनले भनिन्।
रानाथारुहरु आफूलाई राजा जातिका रुपमा लिन्छन्। तर क्षत्रीबाहुनले भने उनीहरुलाई आफ्नो भान्छामा घरमा पस्न नदिदा डा. जीवनलाई विभेद महसुस हुन्थ्यो।
त्यति मात्र होइन, उनी आफ्नै साथीहरुको घरमा जाँदा पनि उनीहरुको चुलो छोइयो भने खाना नखाने गरेको उनले सुनाइन्।
‘त्यो बिभेद अझै पनि महसुस हुन्छ,’ जीवन भन्छिन्, ‘शिक्षाले धेरै कुरा परिवर्तन गर्छ तर मानसिकता परिवर्तन हुँदैन।’
राजनीतिक यात्रा
जीवनको परिवार कांग्रेसको राजनीतिमा छ। सानैबाट त्यही परिवेशमा हुर्किइन्। चुनाव, सभासम्मेलन हुँदा वा कार्यक्रम पर्दा कांग्रेसका नेताहरुलाई खाना खुवाउने घर नै उनको थियो।
जीवनका बुबा र ठूलोबुबा पनि कांग्रेसी नेताका रुपमा चिनिन्थे। आमाहरुले रुख भएको टीका लगाउँथे भने जीवन रुख भएको ब्याच लगाएर हिँड्थिन्।
‘कांग्रेसकै छत्रछायाँमा हुर्किएकाले जन्मैदेखि कांग्रेस भएर आएको हुँ,’ डा. जीवन भन्छिन्, ‘२०४८ सालमा कक्षा आठमा पढ्थेँ। नेविसंघको सदस्यता लिएँ। जीवन यात्रा अगाडि बढ्दै गर्दा कांग्रेस कहिल्यै छोडिएन।’
जीवनले २०७४ सालमा प्रदेश सभाका लागि पनि लडेकी थिइन् तर उनी हारिन्।
हाल उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।
अहिले उनी रानाथारु समुदायको संस्कार, चाडपर्व, चालचलन, भेषभूषा संरक्षणमा व्यस्त छिन्।
उनी भन्छिन्, ‘रानाथारु समुदायको जनसंख्या साढे तीन लाखको हाराहारीमा छ भनिन्छ। हाम्रो आफ्नो छुट्टै पहिचान छ, त्यसलाई जोगाएर राख्नु पर्छ। र भोलिका पिँढीलाई यो कसरी हस्तान्तरण गर्ने सोच मात्र छ।’
रानाथारु समुदायलाई सरकार र समाजले सम्मानका साथ हेरिदिऊन् भन्ने उनको चहाना छ।
‘सबै जातिलाई सम्मान चाहिन्छ। र रानाथारुलाई पनि चाहिन्छ। यसलाई राज्यले बुझिदिनुपर्छ। सरकारले रानाथारु समुदायलाई अधिकार र सेवा सुविधा पनि देओस्,’ उनले भनिन्।
रानाथारु समुदाय एकदमै पछाडि पारिएकाले धेरै कम मात्र साक्षर रहेको उनको भनाइ छ। धनगढी उपमहानगरपालिका भित्र ५२ प्रतिशत मात्र साक्षर छन् भने अन्यत्र अझ कम छ।
सरकारले राना थारु समुदायलाई २०७६ सालमा सूचीकृत गरेको भए पनि त्यतिले मात्र नपुग्ने जीवन बताउँछिन्। राज्यले छिटोभन्दा छिटो रानाथारु आयोग पनि गठन गर्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया