नक्कली शरणार्थी प्रकरणमा बिहीबार पनि काठमाडौं जिल्ला अदालतमा बहस जारी छ।
आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलहरुले बहस सकेपछि बुधबारदेखि प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सुरु भएको थियो।
बुधबार अभियुक्तहरुको पक्षबाट जम्मा १३ जना वकिलले बहस गरेका थिए।
यो प्रकरणमा बुधबार सबैभन्दा पहिले बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए।
दुलालको तर्फबाट ६ जनाले बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट विनोद शर्मासहित सातजना वकिलले बहस गरेका थिए। तिनै वकिलले टंक गुरुङको पक्षमा पनि बहस गरे।
बिहीबार पनि यो मुद्दामा प्रतिरक्षा बहस जारी छ। बिहीबार सबैभन्दा पहिले वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सानु भण्डारी र टंक गुरुङको तर्फबाट बहस गरेका छन्।
अभियुक्तहरुको बचाउमा बहस गरेका उनले कानुनद्वारा बर्जित विषयमा चलाइएको मुद्दा स्थापित नै हुन नसक्ने तर्क उनले गरे।
श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको जाहेरी नै अवैध रहेको तर्क पनि बहसका क्रममा गरेका छन्।
‘यो जाहेरी नै अवैध छ। प्रहरीले जाहेरी नै लिन हुँदैन थियो। नेपालीलाई भुटानी बनाएर पठाउन कानुनले पनि दिँदैन, व्यवहारका हिसाबले पनि सम्भव छैन’, उनले भने।
प्रतिरक्षा बहस गर्दै उनले यो प्रकरण पनि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोग जस्तै स्थापित र पुष्टि हुन नसक्ने जिकिर गरे।
‘सन्दीप लामिछानेलाई सम्मानित काठमाडौं जिल्ला अदालतले नै थुनामा पठाएको थियो’, उनले भने, ‘तर उनलाई उच्च अदालतले छाडिदियो। अझै सर्वोच्च अदालतले त होटलबाट जाहेरवाला युवती सन्दीपसँग हाँसिखुसी अँगालो मारेर निस्केको तथ्यसहित आदेश दियो। जिल्ला र उच्चले सन्दीपमाथि विदेश जान नमिल्ने प्रतिबन्ध पनि सर्वोच्चले हटाइदियो।’
उनले सन्दीपविरुद्धको मुद्दाको छिनोफानो हुन बाँकी रहेकाले यसबारे थप बहस अझै उक्त मुद्दाकै इजलासमा हुने पनि बताए।
‘अब त्यस मुद्दामा पीडित भनिएकी युवतीको उमेर विवाददेखि धेरै विवाद छन्, बहस हुँदै जालान्’, उनले भने, ‘तर नक्कली शरणार्थीसम्बन्धी यो मुद्दामा पनि सन्दीपलाई जस्तै थुनामा राख्नु जरुरी छैन।’
श्रेष्ठले अब इजलासमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र यो प्रकरणका अभियुक्त एवम् नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको पक्षमा पनि बहस गर्दैछन्।
Shares
प्रतिक्रिया