ad ad

समाज


कतै भारी वर्षा, कतै अत्यधिक गर्मी

कतै भारी वर्षा, कतै अत्यधिक गर्मी

नेपालखबर
जेठ ३२, २०८० बिहिबार ८:४५, काठमाडौँ

मनसुन (वर्षायाम सुरु गराउने मौसमी प्रणाली) प्रवेशको पहिलो दिन नै काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा ठूलो वर्षा भएको छ। केही समययता अत्यधिक गर्मीको महसुस गरिरहेका यहाँका नागरिकले राहतको महसुस गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बुधबार सबैभन्दा ठूलो वर्षा लमजुङमा भएको छ। लमजुङलगायत धादिङ, काठमाडौं, हेटौँडा, ओखलढुङ्गा लगायतका जिल्लामा भारी वर्षा भएको छ।। 

बुधबार देशका पहाडी भेगसँगै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको हो। तर गण्डकी र लुम्बिनीका तराईं जिल्लासहित कर्णाली र सुदूरपश्चिममा धने अत्यधिक गर्मी छ।

कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ। कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ। 

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछिन्। यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ। 'गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ', मायाले भनिन्, 'दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन। केही दिनदेखि गाह्रो भएको छ।'

गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ। गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ। बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन्।

पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ।

गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन्। गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो।

टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .