गएराति डोटीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
राति साढे दुई बजे डोटीको शिखर नगरपालिका- ६ अन्यौलस्थित केआई सिंह राजमार्गमा ग २ च २७७६ नम्बरको बोलेरो सडकबाट झण्डै ६० मिटर तल सेती नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।
दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका- ५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रारर्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका ५ कै ३० वर्षीय प्रकाश बुढा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल, २१ वर्षीय राजबहादुर मलाल घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये बिमला मलालको अवस्था गम्भीर छ। घाइते सबैको शैलेश्वरी अस्पताल दिपायलमामा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले बोलेरो चालक बाजुराको गौमुल गाउँपालिका- ४ का २१ वर्षीय महेश बुढालाई पक्राउ गरेको छ।
बोलेरोमा १० जना सबार थिए। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको हो।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी सहायक निरीक्षक बिपिन भण्डारीको कमाण्डमा गएको ६ जना प्रहरी र इप्रका दिपायलबाट प्रहरी सहायक निरीक्षक लोकबहादुर पार्कीको कमाण्डमा गएको १० जना प्रहरीले मृतक र घाइतेको उद्धार गरेका छन्।
Shares
प्रतिक्रिया