नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।
राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे।
‘केहीकेही तत्वहरू १५ वर्ष अघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्क, ब्याक्क, दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो। र, यो काम लाग्ने चिजनै होइन रहेछ, ओलीले भने, ‘मैले बोल्दाखेरी भनेँ– कित चेतनानै नभएका मुर्खहरूले राजतन्त्र मान्छन्। एउटा मान्छेको छोरा, जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिन्छ। लाटो जन्मिन्छ कि। गजाडी जन्मिन्छ कि। ड्रगिष्ट भएर जन्मिन्छ कि। कस्तो भएर जन्मिन्छ? लफंगा भएर जन्मिन्छ कि? थाहा छैन। जन्मिँदै राजा हुने। त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी।’
एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरूले मात्रै गर्ने ओलीको भनाइ थियो।
उनले बिहीवार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौँको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको टिप्पणी गरे।
ओलीले युवा संघ, नेपालको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको भन्दै धन्यवाद समेत दिए।
‘अरु देशका प्रणालीहरूलाई अरु देशका जनता र शासकहरूको बीचका सम्झौताहरूलाई हामीले केही भन्नु छैन। हामीले सिद्धान्तको कुरा गर्ने हो। अरु देशको हकमा हाम्रो देशमा सिद्धान्तको मात्रै कुरा होइन। व्यवहारको कुरा गरेको। हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन। यो देशमा २० साल भन्दा अगाडिसम्म बाटोमा नबन्नुमा के कारण छ? अनि विकास हुनै नसक्नु कारण के हो? २४० वर्ष राजतन्त्रले खायो,’ ओलीले भने।
अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको पनि बताए।
‘यो सरकार त्यत्तिकैमा थर्कमान छ। ५/७ हजार मान्छे यसो हेर्न आए होलान। त्यसैमा सरकार थर्कमान छ। किनभने यसको जग नै छैन। एउटा किलो गाडेको छ भने त्यो हल्लिँदैन। तर यसो थेप्चोथेप्चो पारेर मात्रै राखेको छ भने हावा आउँदा पनि ढल्ला कि, कसैले छुदा पनि ढल्लाकि जस्तो हुन्छ, यो सरकार त्यस्तै हो। गठबन्धन छ, जरा छैन। यस स्थितिमा युवाहरूमा अलिक निराशा छ। र, जनतामा निराशा हुनु देशका लागि बहुत खतरनाक कुरा हो। र, म उहिलेदेखि भन्दैछु–सरकारले जनतालाई निराश पार्ने होइन। उनीहरूमा आशावादिता देखाउनुपर्छ। उनीहरूका मागलाई सम्बोधन गर्नुपर्छ। उनीहरूको आत्माविश्वास बढाउनु पर्छ,’
कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो? केही पनि थाहा नभएकोहरूको प्रदर्शनबाट पनि थर्कमान भएको उनको भनाइ थियो।
‘के हो यो सरकार? हिजो बल्खुमा भोलि उठी कहाँ जाने? केही थाहा छैन भन्ने खालका कहाँ हिँडेका हुन्, त्यो पनि थाहा छैन। के का लागि हिँडेका हुन? त्यो पनि थाहा छैन। के माग हो, के नारा हो? कहाँ पुग्ने हो, के गर्ने हो? थाहा छैन। हाहा हुँहुँ हेर्न जान पाइन्छ रे भनेपछि हाहा हुँहु हेर्न आए,’ उनले भने।
Shares
प्रतिक्रिया