ad ad

समाज


मुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?

मुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?

सागर न्यौपाने
फागुन ४, २०७६ आइतबार १६:१५,

सानेपामा गत साता भएको मुना कार्कीको हत्या र विजय चौधरीको आत्महत्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीले विजय असामान्य मानसिक अवस्थामा रहेको हुन सक्ने केही आधार फेला पारेको छ।

विजयले नै मुनाको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ। यो अपराधमा विजयको मनसाय के थियो भन्ने बारे प्रहरीले एक सातापछि पनि खुलाउन सकेको छैन।

माघ २७ गते सोमबार बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति गएका बेला बिहान ९ देखि साढे ११ बजेबीच उनको घर सानेपामा सो घटना भएको थियो। प्रहरीले मुना कार्कीको घरमा रहेको सीसीटीभी फुटेजको अध्ययनबाट विजयले घटनाअघि असामान्य गतिविधि देखाएको पाइएको बताएको छ।

अनुसन्धानबाट पछिल्लो समय त्यो दिन बिहानैदेखि विजयको व्यवहार फरक देखिएको पाइएको घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर जावालाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

‘हामीले कार्कीको घरमा जोडिएका चारवटै सीसीटीभी फुटेज अध्ययन गर्दा घटना घटेको बिहान चौधरी झण्डै २ मिनेट घरबाहिर आएर सीसीटीभीतिरै फर्किएर एकोहोरो टोलाएको देखिएको छ,’ एसएसपी राईले भने, ‘केही नभएको व्यक्ति त्यसरी एकोहोरो टोलाउँदैन।’

घटना हुनुभन्दा अघिका १२ घण्टाका दृश्य हेरेर प्रहरीले विश्लेषण गरेको राईले बताए।

‘मुना कार्कीको हत्या गर्नुअघि सो घरमा के कस्ता गतिविधि भएका थिए भनेर हामीले सीसीटीभी फुटेज हेरेका थियौँ, १२ घण्टाको सबै गतिविधि नियाल्दा विजय बेचैन जस्तो देखिएको छ,’ राईले नेपालखबरसँग भने, ‘संभवतः कोही नभएको मौका छोपेरै उसले मुनाको हत्या गरेर आफूले पनि सुसाइड गरेको हुनसक्छ।’

घटना घटाउनुपर्ने अन्य कारण फेला नपरेको अवस्थामा यही दृश्य पनि महत्वपूर्ण ‘क्लु’ बन्न सक्छ कि भनेर प्रहरीले अध्ययन गरिरहेको छ। घटनाको रहस्या खोज्न आफूहरुले नयाँ ढंगले अध्ययन गरिरहेको एसएसपी राईले बताए।

‘कहिलेकाहीँ घटनालाई सानो कुराले पनि अल्झाएको हुन्छ, त्यही भएर हामीले सबै पक्षलाई मसिनो रुपमा केलाइरहेका छौं,’ उनले भने।

घटना घटेको ७ दिन बितिसकेको छ। तर, हत्याको चित्तबुझ्दो कारण पेस गर्न प्रहरीले सकेको छैन।

मोबाइल डाटा मागियो, फेसबुकलाई पत्राचार
प्रहरीले विजय र मुनाले प्रयोग गरेको मोबाइलमा रहेका सबै सामाग्री अध्ययन गर्न फरेन्सिक ल्याब पठाएको छ। जसको रिपोर्ट सोमबारसम्म आउन सक्ने एसएसपी राईले बताए।

‘घटना घटेको केहीबेरमै हामीले दुवैजनाले प्रयोग गरेका मोबाइललाई सुरक्षित रुपमा फरेन्सिक ल्याबमा पठाएका थियौं, भोलि (सोमबार) त्यसको रिपोर्ट आउँछ त्यसपछि केही तथ्य खुल्नसक्छ,’ राईले भने।

त्यसबाहेक प्रहरीले नेपाल टेलिकम र एनसेलसँग पनि उनीहरुले प्रयोग गरेको सिममा भएका गतिविधिबारेको जानकारी माग गरेको छ।

‘एक महिनाअघिदेखिको सबै विवरण माग गरेका छौं, त्यसमा कोसँग के कस्ता कुराहरु भएका थिए भन्ने खुल्न सक्छन्,’ राईले थपे।

विजय चौधरीले फेसबुक पनि चलाउने गरेका रहेछन्। सामाजिक सञ्जालमा उनको गतिविधि पनि प्रहरीले अध्ययन गरिरहेको छ।

‘विजयको फेसबुक पेजमा रहेका सबै कन्टेन्ट हेरेपछि फेसबुकलाई इमेल पठाइएका छौं’, एसएसपी राईले भने, ‘उनले फेसबुक चलाउने गरेका रहेछन्, त्यसमा के कस्ता कुरा भएका थिए भन्ने बारेमा हामी अध्ययन गर्नछौं।’

कार्की परिवारमा घरेलु कामदारका रुपमा कार्यरत विजयलाई कहीँ कतैबाट धम्की आएनआएको बारे पनि प्रहरीले अध्ययन गरिरहेको छ।

यतिबेला हत्याको रहस्य सल्ट्याउन अनुसन्धानको दायरालाई फराकिलो बनाउनुको विकल्प प्रहरीसँग नभएको एसएसपी राईको भनाइ छ।

यो पनि
सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु
छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .