ad ad

समाज


माछामासु खाँदा कोरोना सर्ने बढी जोखिम हुने हो? यसो भन्छन् विज्ञ

माछामासु खाँदा कोरोना सर्ने बढी जोखिम हुने हो? यसो भन्छन् विज्ञ

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ३:५७,

अहिले नेपालसहित विश्वभर महामारीका रूपमा आतंक मच्चाइरहेको नोबेल कोरोना भाइरसको संक्रमण सुरुमा चीनको वुहानस्थित मासु बजारबाट उत्पन्न भएको बताइन्छ। यसर्थ यसबीच माछामासु खाँदा कोरोना सर्छ भन्ने हल्ला चलेकाे पाइन्छ। 

कतिपय सरकारी तथा चिकित्सकीय सूचनामा पनि घरेलु तथा जंगली पशुपक्षीको अनावश्यक सम्पर्कबाट टाढै रहन भनिएको पाइन्छ। यसकारण अहिले कतिपय मानिस कोरोना सर्छ भनेर माछामासु खान डराएको पनि पाइन्छ।

तर विज्ञका अनुसार माछामासु नखाँदैमा कोरोनाबाट बच्न सकिने होइन। यो श्वासप्रश्वासमा हुने संक्रमण हो, जुन भाइरस हावाबाटै सर्छ। मासुजन्य खानेकुरामा यो भाइरस बस्छ भन्ने कहीं पुष्टि भएको छैन।

यसर्थ कोरोनाबाट बच्न माछामासु खान बन्द गर्नुनपर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्। उनी भन्छन्, ‘चीनको उहानमा समुद्री खाना पाइने ठाउँबाट यो भाइरस उत्पन्न भएको भन्ने कुरा हो, तर हार्मीकहाँ समुद्री खाना छैन।’

तर पनि मासुबाट विभिन्न रोग सर्ने सम्भावना जहिले रहने भएकाले काट्दा, पकाउँदा होसियारी अपनाउनुपर्ने उनको सुझाव छ।

इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका निर्देशक डा. रन्दीप गुलेरिया पनि मासुजन्य खानेकुराले खतरा बढाउने कुरा सत्य नभएकामा सहमत छन्। तर सामान्य सावधानी हरेक विषयमा अपनाउनुपर्ने उनको सल्लाह छ।

विज्ञका अनुसार मासु राम्ररी पखालेर गल्ने गरी कम्तीमा आधा घन्टा पकाएमा त्यसमा रहेका अधिकांश जीवाणु/कीटाणु मर्छन्। यो तरिका सार्स भाइरस निर्मूल पार्न पनि प्रयोग गरिएको बताइन्छ।

भारतका सरुवा रोग विशेषज्ञ डा. लक्ष्मण जेसानीका अनुसार पनि हालसम्म खानेकुराबाट भाइरस सरेको वा कुनै प्रकारको संक्रमण सरेको तथ्य फेला परेको छैन। तसर्थ कुनै पनि खानेकुरा पकाउने बेला सावधानी अपनाए पुग्छ। माछामासु पकाउँदा पनि यस्तै सावधानी अपनाए पुग्ने उनको भनाइ छ।

उनका अनुसार मासु राम्रोसँग पखालिसकेपछि गल्नेगरी पकाएर खान सकिन्छ। त्यसमा डर मान्नुपर्दैन। बरु काँचो फलफूल र तरकारी खाँदा पनि राम्रोसँग निर्मलीकरण गरेर खानुपर्ने उनको सुझाव छ।

भाइरोलजिस्ट डा‍. पाण्डे नेपालमा त्यस्तो अध्ययन हुन नसके पनि अन्तर्राष्ट्रिय अनुसन्धान अध्ययन गर्दा अहिलेसम्म माछामासुका कारण कोरोना सरेको भन्ने प्रमाण नपाइएको बताउँछन्। ‘तैपनि यो नयाँ भाइरस भएकाले कुनै पनि कुरा हन्ड्रेड पर्सेन्ट यसै हो भन्न सकिने स्थिति छैन,’ नेपालखबरसँग सोमबार बिहान कुरा गर्दै डा. पाण्डेले भने, ‘त्यही भएर होसियारीचाहिँ अपनाउनुपर्छ।’

तर माछामासु खान वा गाईभैंसी दुहुनै डराउन नपर्ने उनी बताउँछन्। ‘गाईभैंसी छोइसकेपछि राम्रोसँग साबुन पानीले हात धु्नुपर्छ,’ उनले भने, ‘तर गाईंभैंसी छुनै नहुने, दुहुनै नहुने भन्ने कुरा होइन।’

विज्ञका अनुसार कोरोना भाइरस मुख्य रूपमा संक्रमितको थुक, र्याल तथा खकारबाट सर्छ। त्यसैकारण आफूले हाच्छिउँ गर्दा, खोक्दा रुमाल वा कुहिनाले नाकमुख छोप्ने तथा एक व्यक्तिबाट अर्काे व्यक्तिको दूरी कम्तीमा २ मिटर राख्ने, मास्क लगाउने गर्नुपर्छ।

यसैगरी संक्रमितले थुक, खकार खसालेको सतहमा हाम्रो हातले छोयो र साबुनपानीले नधोईकन त्यो हात नाकमुखमा पुर्‍यायौं भने कोरोना हाम्रो शरीरमा प्रवेश गर्ने विज्ञले बताइरहेका छन्। तसर्थ कुनै पनि शंकास्पद वस्तु छोइसकेपछि साबुन पानीले कम्तीमा २० सकेन्ड मिचिमिची हात धुन चिकित्सकले सुझाव दिइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .