ad ad

समाज


उपत्यकामा परीक्षण बढाउने तयारी, सरकार भन्छः कोरोना अझै समुदायमा फैलिएको छैन

उपत्यकामा परीक्षण बढाउने तयारी, सरकार भन्छः कोरोना अझै समुदायमा फैलिएको छैन

सागर न्यौपाने
बैशाख ३१, २०७७ बुधबार १२:९,

काठमाडौं र भक्तपुरका तीन जनामा मंगलबार कोरोना संक्रमण देखिएपछि सरकारले व्यापक परीक्षणको तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले काठमाडौं उपत्यकामा व्यापक मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्ने तयारी भएको जानकारी दिए। जोखिम क्षेत्र निर्धारण गरेर परीक्षण गरिनेछ।

नेपालमा चैत ११ गतेदेखि लकडाउन कायम छ। तर, सुरुवाती दिनमा हजारौँ मानिस उपत्यकाबाट बाहिरिएका थिए भने अहिले उपत्यका प्रवेश गर्नेहरुको संख्या उच्च छ।

दैनिक ५ हजारका दरले काठमाडौं प्रवेश गर्नेहरु बढ्न थालेपछि सरकारले १ जेठदेखि लकडाउनमा कडाइ गर्ने भएको छ।

‘बाहिर जिल्लाबाट काठमाडौं भित्रिने संख्या ह्वात्तै वृद्धि भएको छ, जसले गर्दा कोरोनाको जोखिम बढायो,’ डा. पाण्डेले नेपालखबरसँग भने, ‘ग्रिन जोनमा रहेको काठमाडौं अब रेड जोनमा परेको छ, अब हामीले अनुसन्धान गरेर परीक्षण बढाउँछौं।’

अहिलेसम्म काठमाडौं कति भित्रिए, कहाँ गए र अहिले उनीहरु कहाँ छन् भन्ने समेत रेकर्डमा रहेकाले ट्रेसिङ गर्न समस्या नहुने उनले बताए।

मंगलबार काठमाडौं र भक्तपुरमा देखिएका तीनजना संक्रमित सुनसरी र कञ्चनपुरबाट आएका हुन्।

समुदायमा सरेको हो कोरोना?
मंगलबार पर्सा, उदयपुर, कपिलवस्तु र रुपन्देही लगायत जिल्लामा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको (कम्युनिटी ट्रान्समिसन) हुनसक्ने त्रास बढेको छ। तर, डा.पाण्डे भने अझैपनि समूदायमा कोरोना नफैलिएको दाबी गर्छन्।

‘अहिलेसम्म समुदायमा फैलिसकेको छैन,’ उनले भने, ‘समूहमा देखिएकाहरु र एकाध देखिएका व्यक्तिलाई पनि कसैको सम्पर्कबाट सरेको देखिन्छ, थप अनुसन्धान गरिरहेका छौं।’

बुधबार पनि बाँके र कपिलवस्तुमा दुईजनामा संक्रमण देखिएको छ।

‘उनी सबैको सम्पर्क विवरण अध्ययन गर्दा समुदायमै कोरोना पुगिसकेको देखिँदैन, धेरै संख्या बढ्दैमा कम्युनिटी ट्रान्समिसन भयो भन्ने होइन। स्रोत के र कसरी आयो भन्ने हो, अहिलेसम्मको स्रोत पहिचान भएको छ।’

संक्रमितमा किन देखिएन गम्भीर लक्षण?
कोरोना संक्रमितमा उच्च ज्वरो र श्वासप्रश्वासमा कठिनाइ तथा लगातार खोकीजस्ता गम्भीर लक्षण देखिन्छ।

तर, नेपालका कोरोना संक्रमितमा अहिलेसम्म यस्तो गम्भीर लक्षण देखिएको छैन। परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपनि संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. पाण्डेले बताए।

नेपाल आइपुगेको भाइरसको स्वरुप परिवर्तन (म्युटेसन) भएको हुनसक्ने उनको अनुमान छ। कोरोना भाइरस परिवर्तन हुने भएपनि नेपालमा कुन रुपमा छ भन्नेबारे विस्तृत अध्ययन नगरी यसै भन्न नसकिने उनी बताउँछन्।

परीक्षण बढाएपछि संक्रमितको संख्या बढेको बताउँदै उनले आत्तिनुपर्ने अवस्था नभएको बताए।

‘अहिलेसम्म आत्तिनुपर्नेगरी कसैमा पनि लक्षण देखिएको छैन,’ उनले भने, ‘नेपालमा कोरोना संक्रमितको अवस्थाको आधारमा वर्गीकरण गरेर केस स्टडी भने गर्नुपर्नेछ।’

कुनै लक्षण नदेखिएपनि संक्रमितबाट हुने जोखिमबारे अध्ययन भइरहेको उनी बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .