ad ad

समाज


आफूसँग भएकै ६ वटा पीसीआर मेसिन सरकारले प्रयोग गरेन, ओम्नीसँग किनेको ५ वटै मेसिन निकम्मा

आफूसँग भएकै ६ वटा पीसीआर मेसिन सरकारले प्रयोग गरेन, ओम्नीसँग किनेको ५ वटै मेसिन निकम्मा

सागर न्यौपाने
जेठ २२, २०७७ बिहिबार १६:५,

कोरोना संक्रमितको परीक्षणलाई तीव्रता दिन नसकेको आरोप सरकारमाथि लागिरहेको छ। यस्तो बेला पनि सरकारले आफ्नै स्वामित्वमा भएका पीसीआर मेसिन प्रयोग नगरेको पाइएको छ।

दैनिक ३ सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन्। तर, सातै प्रदेशका २० प्रयोगशालाबाट दैनिक जम्मा ४ हजारभन्दा कम पीसीआर परीक्षण हुने गरेको छ।

तथापि, आफ्नै स्वामित्वमा रहेका ६ वटा पीसीआर मेसिन सरकारले प्रयोग गर्न सकेको छैन।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बायो टेक्नोलोजी ल्याब, फरेन्सिक ल्याब खुमलटार, आनन्दवन अस्पताल, गोदावरी, लेले, बिऊ बिजन गुणस्तर तथा नियन्त्रण कार्यालय हरिहरभवन, भेटेरीनरी अस्पताल त्रिपुरेश्वर र कृषि अनुसन्धान परिषद् (नार्क) मा रियल टाइम पीसीआर मेसिन भएपनि प्रयोग भएको छैन।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुवांशिक वैज्ञानिक गिरि त्रिपाठीले संक्रमितको संख्या बढिरहेका बेला नयाँ मेसिन किन्नु त कहाँ हो कहाँ, भएकै भएकै मेसिन समेत सरकारले प्रयोग नगरेको बताए।

‘सरकारी निकायमा ६ वटा मेसिन अझै छन्। तर, तिनीहरुलाई प्रयोगमै ल्याइएको छैन,’ त्रिपाठीले नेपालखबरसँग भने, ‘भएका मेसिन प्रयोग गरेर परीक्षणलाई तीव्रता दिनुपर्ने कुरामा सरकार नराम्ररी चुकेको छ, यसले सरकारको ६ लाख परीक्षण गर्ने लक्ष्यमा धक्का लागेको छ।’

बिहीबारसम्म सरकारले ८४ हजार १ सय ३४ जनाको मात्र पीसीआरबाट परीक्षण गरेको छ। बिहीबार मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

सरकारले सातै प्रदेशमा जडान गरेको २० वटा मेसिनले पनि पूर्ण क्षमतामा काम गर्न सकेका छैनन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा क्षमता अनुसार परीक्षण भएको छैन।

यसैगरी संक्रमितको चाप खेपेको प्रदेश २ मा पनि प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल पर्साले जनशक्ति अभावका कारण पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको स्वीकार गरेको छ। पछिल्लो २४ घण्टामा जनकपुरमा एउटा पनि परीक्षण भएको छैन। नारायणी अस्पतालमा भने जम्मा ९१ वटा परीक्षण भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारले भएका मेसिनको भरपूर प्रयोग र नयाँ मेसिन खरिद गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। तर, सरकारले नयाँ मेसिन किन्न चासो देखाएको छैन।

संक्रमण तीव्र रुपमा फैलन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग छलफल पनि गरेका थिए। छलफलमा सहभागी जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले तत्काल परीक्षणको दायरा बढाउन सुझाव दिएको बताए।

‘विज्ञहरुले सरकारलाई परीक्षणको दायरा बढाउन सुझाव दिएपनि सरकारले परीक्षण बढाउन सकेको छैन। भएका सबै मेसिन प्रयोगमा नल्याएपछि कसरी हुन्छ छिटो परीक्षण?’ प्राध्यापक त्रिपाठीले प्रश्न गरे।

ओम्नीसँग खरिद गरिएको मेसिन बिग्रियो
कोरोनाको संक्रमण सुरु हुँदै गर्दा सरकारले ओम्नी समूहसँग खरिद गरेका ५ वटा मेसिन पूर्ण रुपमा बिग्रिएर कामै नगर्ने भएको छ।

केन्द्र सरकारले दिएको पोर्टेबल मेसिनले कामै नगरेपछि थन्क्याएको गण्डकी प्रदेशले जनाएको छ।

‘केन्द्र सरकारले दिएको मेसिनले काम गरेन थन्क्याएर राखिएको छ,’ सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखा प्रमुख खिम खड्काले भने।

स्रोतका अनुसार ओम्नीसँग सरकारले महंगोमा खरिद गरेको सबै मेसिन बिग्रेको छ।

सरकारले निकम्मा मेसिन खरिद गरेकाले परीक्षणको संख्या बढाउन अवरोध पुगेको प्राध्यापक त्रिपाठी बताउँछन्।

‘ओम्नीसँग सरकारले खरिद गरेको मेसिन काम लागेन,’ त्रिपाठीले भने, ‘सरकारको सवा दुई करोड रुपैयाँ त्यसै खेर गइरहेको छ, अरु राम्रा मेसिन समेत आवश्यक ठाउँमा पठाउन सकेन।’

हाल दुईवटा मेसिनबाट दैनिक एक सय ८० परीक्षण गरिरहेको गण्डकी प्रदेशले परीक्षणलाई थप तीव्रता दिन अर्काे पीसीआर मेसिन खरिद गर्न लागेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशले नयाँ मेसिन खरिदका लागि आइतबार टेन्डर प्रकाशन गरेको र मेसिन खरिद प्रक्रिया अघि बढिसकेको खड्काको भनाइ छ।

‘परीक्षणको दायरा बढाउन नयाँ मेसिन खरिद गर्न लागेका हौं,’ खड्काले भने, ‘केन्द्र सरकारले बजेट नदिएपनि प्रदेशकै बजेटले मेसिन खरिद गर्ने निर्णय ग¥यौं।’

२० दिनअघि पनि प्रदेशले एउटा पीसीआर मेसिन खरिद गरिसकेको उनले बताए। एउटा नयाँ मेसिनको अहिलेको बजार मूल्य २५ लाख हाराहारी रहेको उनले जानकारी दिए।

यही आधारमा सात प्रदेशमा नयाँ मेसिन खरिद गर्न दुई करोड १० लाखभन्दा बढी रकम आवश्यक पर्छ। तर, सरकारसँगै भएका मेसिन प्रयोग गर्ने हो भने त्यो रकम संक्रमितको थप व्यवस्थापनमा लगाउन सकिने त्रिपाठीको सुझाव छ।

हाल कर्णाली, सुदुरपश्चिम, प्रदेश १ र २ मा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। ती प्रदेशमा परीक्षणको दायरा बढाउन आवश्यक रहेको प्रदेश सरकारले जनाएको छ।

हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही, भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीमा पनि कोरोनाको पीसीआर विधिबाट परीक्षण भइरहेको छ।

काठमाडौं उपत्यकाबाहेक अन्य प्रदेशमा परीक्षण तीव्र रुपमा हुन नसक्नुको कारण नै मेसिन अभाव रहेको प्रदेशका अधिकारीहरुले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना शाखा प्रमुख डा. गुणराज लोहनीले मेसिन थप्ने नथप्ने विषयको जिम्मेवारी ल्याबलाई दिइएको बताए।

पीसीआर होइन आरएनए मेसिन किन्दै जनस्वास्थ्य प्रयोगशाला
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा. रुना झाले पीसीआर परीक्षणको गति बढाउन नमुनाबाट आरएनए निकाल्ने मेसिन खरिद गर्न लागेको बताइन्।

कोरोना परीक्षण गर्दा भाइरसमा भएको आरअएनलाई जम्मा गरी पीसीआर मेसिनमा हालेर त्यसको संख्या वृद्धि गरिन्छ। त्यो आरएनए निकाल्ने काम अहिले हातैले भइरहेकाले परीक्षणको गति कम भएको डा. झाले बताइन्।

‘क्षमता विस्तार गर्न अहिलेसम्म भएको पीसीआर मेसिन एक ठाउँमा छ तर हामीले आरएनए निकाल्ने मेसिन खरिद गर्नुपर्ने देखिरहेका छौं,’ उनले नेपालखबरसँग भनिन्, ‘त्यो आरएनए निकाल्ने काम अहिलेसम्म हातले नै भइराखेको थियो। हातले गर्दा २ घण्टामा ५० वटा निकाल्न सकिन्छ। मेसिन भयो भने एक घण्टामा सय वटा जति निस्कन्छ।’

आरएनए बढी निस्कियो भने पीसीआर बढी गर्न सकिने उनको भनाइ छ। डा. झाले सबै प्रदेशमा त्यो मेसिन खरिद गरिन्छ कि गरिँदैन आफूलाई थाहा नभएको बताइन्।

पीसीआर मेसिनभन्दा आरएनए मेसिन धेरै महंगो पर्ने उनको भनाइ छ।

‘पीसीआर मेसिन २० लाख सम्ममा आउँछ भने, आरएनए मेसिन डेढ करोड भन्दा बढी मूल्य पर्ने हुन्छ, अब छिट्टै त्यो मेसिन खरिद गर्ने तयारी भएको छ,’ उनले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .