भारतीय र चिनियाँ सैनिकबीच लद्दाख क्षेत्रमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको थियो।
सो क्रममा भारतको एक सैनिक अधिकारी र दुई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएको छ।
केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।
भारतले चीनको सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ।
‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’
प्रतिक्रिया