ad ad

समाज


काेराेनाबारे व्यर्थै चिन्ता नगरौं, बरु यी ३ कुरा आत्मसात् गरौं : डा. रवीन्द्र पाण्डे 

काेराेनाबारे व्यर्थै चिन्ता नगरौं, बरु यी ३ कुरा आत्मसात् गरौं : डा. रवीन्द्र पाण्डे 

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ३:५१,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसले भन्दा त्यसको त्रासका कारण हामी दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै तीन कुरा आत्मसात् गर्न सुझाव दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले, चिन्ता गर्दैमा भाइरस नसर्ने नभएकाले चिन्ताको साटो बरु आफूलाई बलियो बनाउने उपायमा लाग्न आग्रह गरेका हुन्।

डा. रवीन्द्र पाण्डेले फेसबुकमार्फत दिएका सुझाव यस्ता छन्-

नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्था छ। कोरोना संक्रमण ९५ प्रतिशतले सजिलै जितेको अवस्था छ भने बाँकी ४.४ प्रतिशतलाई अस्पतालका देवीदेवताले बचाएका छन्।

कोरोना भाइरसको शक्तिभन्दा हजारौं गुणा डरका कारण हामीहरू दिनप्रतिदिन कमजोर बन्दै गएका छौं। कोरोना संक्रमण भयो भने यी ३ अवस्था हुने हो।

१. सकभर संक्रमणबाट बच्ने हरसम्भव प्रयास गर्ने हो. घरमै बस्ने, बाहिर जानु परेमा अनिवार्य रुपमा सही तरिकाले नाक र मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउने, सम्भव भएसम्म ६ फिटको दूरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने हो। भाइरस सर्छ कि भनेर चिन्तित हुनु जरुरी छैन। चिन्ताले भाइरस नसर्ने होइन। व्यर्थ किन चिन्ता गर्ने? किन पेनिक हुने?

२. यति गर्दागर्दै पनि संक्रमण सर्यो भने त्यसको सामना गर्नुको विकल्प छैन। संक्रमण भयो भने होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बस्ने। यसाे गर्दा २ हप्तामा ठीक हुन्छ। 

यदि कडा लक्षण देखिए (सास फेर्न गाह्रो हुने, ज्वरो ४-५ दिनसम्म आउने, खान खान नसक्ने, अक्सिजनको मात्रा ९२ भन्दा घट्ने, ओंठ, नङ आदि निलो हुने, चक्कर लाग्ने आदि) तुरुन्तै अस्पताल जाने हो। अस्पताल गएपछि निको हुन्छ।

नेपालमा एक हजार संक्रमितमध्ये जम्मा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुने अधिकांश व्यक्तिसँग विविध स्वास्थ्य समस्या हुन्छन्। उपचारले उकेरा लगाएको जीवनलाई कोरोना भाइरसले फुकेर ढालेजस्तै हो। हामी कोरोना भाइरससँग डराएका होइनौं। मृत्यु तथा रोगसँग डराएका हौं। रोग निको हुन्छ, मृत्यु शाश्वत छ।

३. कोरोना संक्रमणरकोभिड निको भएपछि खानपिन, शारीरिक अभ्यास र आत्मबल वृद्धि गर्ने हो। पत्रपत्रिका, इन्टरनेट, टेलिभिजन, सामाजिक सञ्जाल तथा असामाजिक सञ्जालमा दुर्लभ केसलाई लिएर पस्किएका डरलाग्दा कुराको विश्वास गर्नुहुँदैन। संसारमा लाखौं वैज्ञानिक र विज्ञ छन्। उनीहरूले कोभिड लागेपछि कुन कुन अंगमा के असर गर्दोरहेछ भनेर अध्ययन गरेका हुन्छन्। जुन परिणाम प्राप्तिका लागि अनुसन्धान गरेका हुन्छन् , त्यस्तै रिपोर्ट निकाल्छन्।

सनसनीपूर्ण हल्लाका रूपमा कोरोना संक्रमण निको भएपछि फोक्सो, मुटु, कलेजो, किड्नी, मस्तिष्क, स्नायु आदि अंग खराब हुने, बच्चा नहुने, एक वर्षभित्र मृत्यु हुने, सधैंका लागि दीर्घ बिरामी हुने, मांसपेशी सधैं गल्ने, मानसिक समस्या हुने आदि अनेक कुरा प्रकाशन/प्रसारण गरिरहेका हुन्छन्। हामीले ती कुरा हेर्ने, होला त नि भन्ने, चिन्ता गर्ने काम नगरौं।

जुनसुकै रोग पनि निको भएपछि केहि हप्ता कमजोरी अनुभव हुन्छ। पौष्टिक खाना, शारीरिक सक्रियता, उच्च मनोबल, सकारात्मक सोच तथा आफ्नो कामको व्यस्तताले ती पार्श्व प्रभाव हराउँदै जान्छन्। कुनै समस्या देखियो भने पनि त्यसको उपचार हुन्छ। उपचार गरे निको हुन्छ।

हरेक व्यक्तिको शरीर, रोगप्रतिरोधात्मक क्षमता तथा जीवनशैली फरक फरक हुन्छ। अमुक ठाउँका केही व्यक्तिलाई परीक्षण गरेर बायस स्टडीबाट आएका कुरा हामीलाई पनि हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन।

तसर्थ निको भएपछि भयोभयो भन्ने ठानेर आफ्नो जीवन सुचारु गर्ने हो।

सूचना र समाचारको हाइ डोज नै तनावको प्रमुख स्रोत हो। हाम्रो ननकोभिड जीवन निकै सुन्दर छ। त्यो सुन्दर जीवन बाँच्ने अभ्यास गर्‍याैँ भने हामी स्वस्थ र निरोगी हुन्छौं। त्यसैले आउँदै नआएको समस्याका लागि फेक चिन्ता नगरौं। हुँदै नभएको कुराको डर नमानौं।

 

कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ - . नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्था छ | कोरोना संक्रमण ९५ % ले सजिलै...

Posted by Dr. Rabindra Pandey on Wednesday, October 21, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .