ad ad

समाज


छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

शैलेन्द्र महतो
मंसिर ४, २०७७ बिहिबार ५:४९,

मिथिलाञ्चल लगायत तराई मधेशमा छठ पर्वको दोस्रो दिन बिहीबार खरना मनाइँदै छ।

आज दिनभर उपबास बसेका छठ ब्रतालुले साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाउने गरिन्छ।

नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई समेत प्रसादको रुपमा खान दिने चलन छ।

पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाइने छठपर्व बुधबारबाट विधिवत सुरु भएको हो।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बुधबार ब्रतालुहरुले नुहाएर अरबा–अरबाइन एवं चोखो खानेकुरा खाएका थिए। यो दिनलाई ‘नहाय खाय’ भनिन्छ। त्यसअघि बुधबार ब्रतालुहरुले माछा र कोदो बारेका थिए।

No description available.

छठ पर्वको मुख्य दिन अर्थात मूल विधि शुक्रबार रहेको छ। भोलि छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र शनिबार उदाउँदो सूर्यको अर्घ दिइने छ।

चार दिनसम्म मुख्य विधि गरि मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा–अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुनेछ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ।

छठ पर्व पाँच दिन मनाइए पनि माछा मरुवा बार्ने दिनलाई मुख्य विधि नमान्दा चार दिन मात्र छठ पर्व मनाउने गरेको प्रचलन छ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दीनानाथलाई चढाउने गरिन्छ। अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्।

छठ पर्वमा सूर्य भगवान अर्थात दीनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।

मिथिलाञ्चल लगायत तराई मधेशबासी अहिले पूर्णरुपमा छठ पर्वको तयारीमा जुटेका छन्। छठ पर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ।

त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई शृंगारिने काम भइरहेको छ। खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउने कार्य जारी छ।

अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ।

अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .