ad ad

समाज


दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ४:५९,

बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ।

कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि मंसिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो।

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन्। उनले भने, ‘सदरमुकाम रहेको नगर क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ, यसको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय गरेका हौँ।’

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न पाइनेछ। यस्तै अति आवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ।

यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ।

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको छ।

यस्तै धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको छ। लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ।

कसैले अत्वाश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए। उनले भन्नुभयो, “भीडभाड कम गर्न तथा जोखिम कम गर्न अत्यावश्यक कामका लागि वडाको सिफारिस अनिवार्य गरेका हौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .