ad ad

समाज


विद्यार्थीको संख्या बढेपछि दरबार हाइस्कुलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

विद्यार्थीको संख्या बढेपछि दरबार हाइस्कुलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ५:२२,

विद्यार्थी भर्ना संख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षा कोठामा सिट क्षमता बढाइएको छ।

नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो।

पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो। हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः थप ६ विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो।

क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ सम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ। नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यो विद्यालयको भवन विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढंगले पुनःनिर्माण गरिएसँगै नयाँ विद्यार्थी आउने क्रम बढेको हो।

अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी कोटा संख्या पुगेको छ। कामपा–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन।

भवन निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० मात्र विद्यार्थी रहेका थिए। ‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन्। यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षा भरिनेछन्’, उनले भने।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलाकै जस्तो देखिन्छ। नौ रोपनी जग्गामा निर्माण गरिएको विद्यालय भवन चारतले छ। यसमा ६० कक्षाकोठा छन्।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक विद्यालय भवनको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन्। नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। लामो समयसम्म काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्शापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियो।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठककक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन्। रु ८५ करोड ५९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कूलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आएको हो। तर कोरोना महामारीका कारण हालसम्म भौतिकरूपमा पठनपाठन भने हुनसकेको छैन। नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कूल रहन गएको हो। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरेका थिए। राजा–माहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो। विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजिक सारेका थिए। विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .