काठमाडौँको सुन्धारामा भएको नगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपको विषयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि चासो राखेका छन्।
गत बुधबार साँझ भएको उक्त घटनामा नगर प्रहरीले आत्मरक्षा मात्रै गरेको स्पष्टिकरण दिएको थियो।
काठमाडौँ मल अगाडि भएको सो घटनामा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी गरी ११ जना घाइते भएका थिए।
सो घटनाबारे कटाक्षको भाषा प्रयोग गर्दै स्वतन्त्रबाटै निर्वाचित धरानका मेयर साम्पाङले फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिकाका प्रहरीमाथि कुटपिट भएको अनि प्रतिरक्षामा आत्मरक्षाको लागि प्रहरीले प्रतिकार गरेको भन्ने पो छ त हौ। कुरा के रैछ?’
सो घटनामा प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आलोचना भइरहेको छ। यसबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि शनिबार साँझ सामाजिक सञ्जालमार्फत् स्पष्टिकरण दिएका थिए।
उनले नगर प्रहरीमाथि आक्रमण भएपछि प्रतिरक्षा गर्न खोज्दा मात्रै सो घटना घटेको दाबी गरेका छन्। साथै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै कार्यकर्ताले सो घटना घटाएको समेत आरोप लगाएका छन्।
मेयर शाहले नगर प्रहरीमाथि भएको आक्रमणपछि टाउकोमा लागेको चोटपटकसमेतको तस्बिर सार्वजनिक गरेका थिए।
उता नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी छ।
Shares
प्रतिक्रिया