बायर्न म्युनिखका स्ट्राइकर लेरोई सानेले आफूमाथि कुटपिटमा उत्रिएका अर्का स्टार खेलाडी स्याडियो मानेलाई कारबाही नगर्न आग्रह गरेका छन्।
युएईएफ च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि बायर्न म्युनिखका यी दुई खेलाडीबीच तनाव भएको थियो।
सिटीसँग नमिठो हारपछि बायर्नका दुई स्टार खेलाडीबीचको तनाव बढेर ड्रेसिङ रुममा कुटाकुट भएको थियो। त्सक्रममा मानेले सानेको अनुहारमा मुक्का हानेका थिए।
एत्तिहाद स्टेडियममा सिटीसँग ३-० को हारपछि सानेलाई ड्रेसिङ रुममा मानेले कुटपिट गरेपछि क्लबले कारबाही थालेको छ।
बायर्न व्यवस्थापनले मानेलाई बिहीबार नै तत्कालका लागि निलम्बित गरेको छ। छानबिन नसकिएसम्म उनले बायर्नबाट मैदानमा उत्रिन पाउने छैनन्।
क्लब व्यवस्थापनले मानेलाई तत्काल निलम्बन गर्दै उनीसँगको सम्झौतासमेत तोड्ने तयारी थालेपछि सानेले त्यसो नगर्न भनेका हुन्।
सानेले क्लब व्यवस्थापनसँग विशेष आग्रह गर्दै मानेविरुद्धको कारबाही फिर्ता लिन आग्रह गरेका डेली मेलले जनाएको छ।
'सानेले मानेलाई निलम्बन नगर्न बायर्नलाई विशेष आग्रह गरेका छन्। आफूलाई कुटपिट गरेपछि क्लबका सहकर्मीमाथि कारबाही नचलाउन आग्रसहित उनी अघि सरेका हुन्', डेलीमेलले भनेको छ।
च्याम्पियन्स लिग क्वार्टर फाइनको पहिलो लेगमा सिटीसँग हारेपछि बायर्नमा तनाव देखिएको थियो। लिभरपुलका ३१ वर्षीय पूर्वविंगर माने अहिले निलम्बित अवस्थामा छन्।
बिहीबार क्लबले साने र माने दुवैसँग बैठक गरेको थियो। क्लबका निर्देशक ओलिभर काहानसहितको उक्त बैठकपछि मानेलाई कारबाही नगर्न भन्दै सानेको आग्रह आएको हो।
सानेले मानेलाई कारबाही नगर्न भने पनि जर्मनीमा यी सेनेगल स्टारको करिअर अब सकिएको अनुमान गर्न थालिएको छ। गम्भीर अनुशासन उलंघन गरेकाले उनको सम्झौता तोडेर कारबाही अघि बढाउने मुडमा क्लब रहेको समाचारमा जनाइएको छ।
Shares
प्रतिक्रिया