ad ad

खेल


ए डिभिजन लिगः जितसँगै आर्मी शीर्ष स्थानमा

ए डिभिजन लिगः जितसँगै आर्मी शीर्ष स्थानमा

नेपालखबर
पुस २४, २०७६ बिहिबार ११:१७,

सरस्वती क्लबलाई १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ।

लिगमा अपराजित रहेको मनाङ ११ अंकमा दोस्रो स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छन्।

पाँचौ चरणसम्म आइपुग्दा मनाङ, मछिन्द्र र जावलाखेल युथ क्लब अपराजित छन्। आजको खेलमा सरस्वतीलाई पराजित गरेपछि मनाङलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा  उक्लेको हो।

लिगको दोस्रो खेलमा आर्मी मनाङसँग १–० ले स्तब्ध भएको थियो। पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० ले पाखा लगाएको थियो।

आर्मीको जितमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे। खेलको दोस्रो हाफमा आर्मीले अग्रता दोब्बर पार्ने मौका पाए पनि सदुपयोग गर्न सकेन। कार्कीले खेलको ३० औं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल गरेका थिए। लगत्तै दिनेश हेन्जनको प्रहारलाई गोलरक्षकले बचाए।

खेलको ६८औं मिनेटमा दीपक गुरुङको पासमा नवयुगले गरेको प्रहारलाई गोलरक्षक प्रदीपले बचाए। ७४औं मिनेटमा सन्तोष तामाङको फ्रिकिक पोस्टबाट थोरै बाहिरियो। लगत्तै दिनेश हेन्जनको पासमा टंक बस्नेतले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। ७९औं मिनेटमा टंक बस्नेतको क्रस पास क्रसबारमा लाग्दै बाहिरियो। ८५औं मिनेटमा टंकको क्रसमा नवयुगले बक्सभित्र बाईसाइकल किक प्रयास गरेपनि सफल हुन सकेन।

पहिलो हाफको ४३औं मिनेटमा नवयुग श्रेष्ठको हेडरले पोष्टको गति लिन नसकेपछि आमी अग्रता दोबर पार्नबाट चुकेको थियो। खेलको चौथो मिनेटमा दिनेश हेन्जनको प्रहार आकासियो। १४औं मिनेटमा जर्ज प्रिन्स कार्कीको फ्रिकिक प्रहारलाई गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५औं मिनेटमा नवयुग श्रेष्ठले बक्सभित्रबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो।

पहिलो हाफको इन्ज्युरी समयमा आर्मीले दुई सुन्दर मौका खेर फाल्यो। नवयुग श्रेष्ठको प्रहार क्रसबारबाट थोरै बाहिरियो लगत्तै जर्ज प्रिन्सले दोस्रो बार च्याप्दै गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो।

अंक तालिकाको पुछारमा रहेको सरस्वती भने रेलिगेशनमा पर्ने खतरामा छ। हालसम्मका सबै खेलमा पराजित सरस्वतीले मात्र जारी लिगमा खाता खोल्न सकेको छैन। सरस्वती एनआरटीसँग ४–०, जावलाखेलसँग १–०, पुलिससँग २–० तथा एपीएफसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .