भलिबल खेल्न सुरु गर्दा त्रिभुवन आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठले सोचेका थिएनन्, एकदिन नेपाली राष्ट्रिय टोलीको कप्तान बन्छु भनेर। तर उनी अहिले नेपाली टोलीको १० औं कप्तानमा नियुक्त भएका छन्।
राष्ट्रिय भलिबल टोलीले अब मानबहादुरको कप्तानीमा चीनको होन्झाउमा हुने एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछ। नेपाल भलिबल संघले हरिहजुर थापालाई कप्तानबाट हटाउँदै मानबहादुरलाई कप्तानको जिम्मेवारी दिएको हो।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभीए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले आर्मीकै हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको हो।
हरिहजुरको ठाउँमा संघले आर्मीकै मानबहादुरलाई कप्तानी जिम्मेवारी सुम्पेको हो। संघले आफूलाई कप्तान नियुक्त गरेकोमा मानबहादुर खुसी छन्। करिब एक दशक भलिबलमा बिताएका मानबहादुर भन्छन्, ‘कप्तान हुँदा त्यति धेरै दबाब महसुस गरेको छैन, किनकि मसँग ८–९ वर्षको अनुभव छ। अनि म र मेरो टिमका साथीहरुको उमेर पनि उस्तै भएका कारण त्यस्तो महसुस गरेको छैन। अब टिमलाई राम्रोसँग अगाडि बढाउने तयारी छ।’
सुरुवातमा कप्तान भएको आफैँले विश्वास गर्न नसकेका मानबहादुरले यो खबर आमालाई सुनाए। आमाले जवाफ दिइन्, ‘राम्रो खेल्दैछस् अझै राम्रो खेल्नु।’
‘कप्तान भएपछि फोन आएर मोबाइलको ७० प्रतिशत ब्याट्री सकिएको थियो,’ मानबहादुर भन्छन्, ‘यो दिन कहिल्यै बिर्सन सक्दिनँ। यति धेरै माया गर्नुभएको छ। सधैँ यस्तै माया चाहन्छु।’
टोलीमा कहिलेकाहीँ कप्तान बाहिर हुँदा म्याच क्याप्टेन बन्थे मानबहादुर। त्यो बेलामा उनी निकै खुसी हुन्थे।
तर राष्ट्रिय टोलीकै कप्तान बनेको थाहा पाएपछि मानबहादुर राम्रोसँग निदाउन सकेनन्। उनी भन्छन्, ‘कप्तान भएको समाचार आएपछि मलाई निद्रा नै लागेन। टिमलाई कसरी लैजाने होला, के गर्ने होला भनेर सोचिरहेँ। मैले गर्न सक्छु कि नाइँ भनेर सोचिरहेँ। किन समय खेर फाल्नु, भनेर प्लानिङमा जुटेँ।’
सफलताको हिसाबले हेर्ने हो भने नेपालमा पुरुषभन्दा महिला टोली अघि छ। मानबहादुर आफ्नो कप्तानीमा टोलीलाई सफलता दिने योजनामा छन्।
उनी भन्छन्, ‘महिला भलिबलले जुन नतिजा दिइरहेको छ, त्यो नतिजा पुरुष टोलीले पनि दिन सक्छ भनेर त्यही अनुसार काम गर्नेछु। सफल कप्तान बन्ने योजनामा छु, त्यसमा टोलीका साथीहरुको सहयोग पाउनेमा विश्वस्त छु।’
आगामी दिनमा भलिबलको स्तर अझै बढ्नेमा मानबहादुर आशावादी छन्।
‘खेलकुदमा खेलको स्तर सधैँ एकै ठाउँमा रहँदैन। पहिला भन्दा सुधारिएको छ। अझै गर्न सक्छौँ, अहिले पनि भलिबलमा नयाँ खेलाडीहरु आइरहेका छन्,’ उनले भने।
खेलकुदमा अनुशासनको महत्व मानबहादुरले राम्रोसँग बुझेका छन्। त्यसैले नयाँ आउने खेलाडीलाई अनुशासनमा बस्दै प्रशिक्षणसँगै पढाइलाई पनि अगाडि बढाउन उनी सुझाव दिन्छन्।
मानबहादुर भन्छन्, ‘अनुशासन भन्ने कुरा सबैलाई चाहिन्छ। जन्मिँदैदेखि सिक्ने कुरा पनि हो। तर खेलाडीलाई धेरै चाहिन्छ। अनुशासनबिना सफलताको उचाइ पनि लिन सकिँदैन।’
एक साताअघि भएको घटनाका लागि पनि मानबहादुर माफी माग्छन्।
‘नहुनुपर्ने घटना थियो, जुन भयो। त्यसका लागि टोलीको कप्तान र खेलाडीको रुपमा माफी माग्न चाहन्छु,’ उनी भन्छन्, ‘आम दर्शकले भलिबललाई यति धेरै माया गर्नुभएको छ। सधैँ यस्तै मायाको अपेक्षा गरेको छु।’
सन् २०१७ को सेन्ट्रल जोनमा नेपाल तेस्रो भएर कास्य पदक जित्दाको क्षण आफ्नो उत्कृष्ट समय भएको उनको भनाइ छ।
‘यस्तै मालदिभ्समा बेस्ट अवार्ड पाएको थिएँ, त्यो क्षण बिर्सन सक्दिनँ,’ उनले भने।
त्यस्तै, २०७६ को भदौमा घरेलु कोर्टमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा मानबहादुर टोली बाहिर थिए। राष्ट्रिय टोलीका लागि दाबेदार मानबहादुर च्याम्पियनसिपमा दर्शकका रुपमा सिमित थिए। त्यो क्षणलाई उनी सम्झिन चाहँदैनन्।
वैशाखमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदलाई राष्ट्रिय टोलीको छनोटको आधार बनाइएको थियो। तर त्यसको केही दिनअघि नै मानबहादुर स्थानीय समाजको अनौपचारिक भलिबल खेल्न जापान उडेका थिए।
त्यहाँको प्रतियोगिता सकेर मानबहादुर स्वदेश फर्किहाले। तर आर्मीले आठौं खेल्ने टोलीमा उनलाई समावेश गरेन। आठौंमा उनी टोलीबाहिर हुँदा २५ खेलाडीमा समेत परेनन्।
यसले मानबहादुरलाई ठूलो पाठ सिकाएको छ। त्यसैले उनी यस्तो गल्ती फेरि नदोहोर्याउन प्रतिबद्ध छन्।
पुरानो बजार, कावासोती, नवलपरासीमा जन्मिएका मानबहादुरले जीवन ज्योति स्कुलबाट भलिबल खेल्न सुरु गरे। मानबहादुरलाई सुरुवातमा निराजन महतोले भलिबल सिकाउँथे। उनी महतोलाई नै आफ्नो पहिलो गुरु मान्छन्।
मानबहादुर भन्छन्, ‘उहाँले हात समातेर खेल्न सिकाउनु हुन्थ्यो।’
स्कुलपछि मानबहादुर गण्डकी प्रदेश तत्कालीन पश्चिमाञ्चलबाट भलिबल खेले। उनले पश्चिमाञ्चलको कप्तानी पनि सम्हाल्ने मौका पाएका थिए। त्यसको केही वर्षपछि मानबहादुर आर्मीमा आए।
आर्मीमा आएको केही समयपछि मानबहादुरले कप्तानी सम्हाल्ने मौका समेत पाए। उनी वर्षको सर्वोत्कृष्ट खेलाडी समेत बने। यही सफलतालाई निरन्तरता दिँदै अहिले कप्तान बने।
निम्नवर्गीय परिवारका मानबहादुर मेहनत गरियो भने सफलता पाउन सकिन्छ भन्नेमा विश्वास राख्छन्। उनी भन्छन्, ‘एक छाक खाँदा अर्को छाक खान नपाउने परिवारबाट आएको हुँ। त्यो बेलामा नेपालको कप्तान हुन्छु भनेर सोचेको थिइनँ। तर मेहनत गर्दै जाँदा सम्भव हुने रहेछ।’
‘सातआठ कक्षा पढ्दा मेरो उचाइ बढी थियो। गरिब परिवारमा हुर्केको, मोजाको बल सिलाएर खेलेर अघि बढेको मान्छे हुँ, संघर्ष गरेर आएको हुँ। आज यो दिन आउला भनेर सोचेको थिइनँ,’ उनी सुनाउँछन्, ‘सायद भलिबल नखेलेको भए अहिले जहाँ पनि हुन सक्थँे, किनकि परिवारको आर्थिक अवस्था नै उस्तै थियो। अहिले खेलाडी भनेर देशले यसरी चिन्ने पनि थिएन। भलिबलले मेरो इच्छा पूरा गरेको छ।’
मामाघरमा हुर्किएका मानबहादुरको साथमा आमा मात्र थिइन्। उनलाई मामामाइजुले कहिल्यै खेल्नबाट रोकेनन्। मामामाइजुको साथ पाएपछि भलिबल खेल्दै हुर्किएका मानबहादुलाई विवाहपछि श्रीमती लिसा थापाले पनि भलिबलमा लाग्न प्रेरणा दिइरहन्छिन्। लिसा आफैँ पनि भलिबल खेलाडी थिइन्। त्यसैले उनले मानबहादुरलाई अगाडि बढ्न हौसला दिइरहिन्। मानबहादुर आफ्नो सन्तानलाई पनि भलिबल खेल्न प्रेरित गर्ने योजनामा छन्।
Shares
प्रतिक्रिया