नेपाल पुलिस क्लबकी एरिका गुरुङले करातेको इतिहासमा पहिलो रजत पदक जित्दै इतिहास रचिन्।
हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा करातेलाई पदकको उच्च सम्भावना भएको खेलको रुपमा लिइन्छ। तर, एसियाडको यात्रामा नेपालका लागि करातेले रजत पदक भित्राउन सकेको थिए।
नयाँ खेलाडीको साथमा इतिहास रच्न निस्केको करातेका लागि एरिकाले आफ्नो पहिलो सहभागितामा नै रजत जित्दा इतिहास मात्र रचिनन् करातेका लागि पनि पहिलो रजत पदक आफ्नो नाममा दर्ज गरिन्।
रजत विजेता एरिका मंगलबार टोलीसँगै स्वदेश फर्किइन्। एसियाडमा सबैको केन्द्रमा एरिका पनि थिइन्। नहुन पनि किन, नेपालले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक ल्याएको थियो।
यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यसयता नेपाल रजत पदकविहीन थियो।
स्वदेश फर्किएपछि एरिकाले भनिन्, ‘रजत जितेर आउँदा ह्याट्रिक गरेजस्तो भैरहेको छ। नर्भस महसुस पनि भैरहेको छ। यत्तिले मात्र हुँदैन जस्तो लागेको छ। अझै राम्रो एरिका आउँछ होला।’
पदक जितेपछि दंग एरिकाले एसियाड जानुअघि जस्तो सर्पोट पाइरहेकी थिइन्, अहिले पनि त्यस्तै पाइरहेकोमा खुसी छिन्।
६८ केजी तौल समूहको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्दै एरिकाले रजत पक्का गरेकी थिइन्। स्वर्णका लागि भएको स्पर्धामा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभा पाजित भएपछि एरिकाले रजतमा नै चित्त बुझाउन बाध्य भइन्।
सेमिफाइनलमा पुगेपछि आफूहरूले स्वर्ण पदकलाई नै लक्ष्य बनाएको एरिका सुनाउँछिन्।
उनले भनिन्, ‘सेमिफाइनलमा पुग्दा गुरुहरूले बलियो मानसिकता बनाउन सहयोग गर्नुभएको थियो। आफ्नो वेष्ट दियौ भने सक्छौ भन्नुभएको थियो। उहाँहरूको माया र केयरले नै होला यहाँसम्म ल्याएको।’
फाइनलमा पराजित भएर रजतमा चित्त बुझाउन बाध्य भएपनि एरिकाले पहिला देशलाई सम्झिइन्।
‘दिमागमा स्वर्ण पदक मात्र भएको कारण होला फाइनलमा हार्दा ला स्वर्ण पदक ल्याएन भन्ने थियो’, उनी सुनाउँछिन्, ‘स्वर्ण जित्न नपाउँदाको दुख र रजत जितेपछि खुसी पनि थियो। नेपाललाई यहाँसम्म ल्याए भन्ने पनि थियो त्यही भएर मिक्स फिलिङ्स थियो।’
रजत पदक जितेको २० मिनेटपछि एरिकाले परिवारसँग कुरा गरिन्।
एरिकाकी आमाले बधाई छोरीलाई बधाई दिइन् र मेसेज पठाइन्, ‘आई एम प्राउड अफ यू।’
आमासँगको छोटो कुराकानीपछि एरिकाले बाबासँग फोनमा कुरा गरिन्। फोनमा बुबाले आँशु झार्दै भने, ‘मैले भनेको कुराहरू पूरा भैरहेको छ।’
बाबा र आमासँगको कुराकानीपछि एरिकाले मनमनै सोचिन्, ‘हजुरहरूले अझै डिजर्भ गर्नुहुन्छ।’
९ वर्षअघि मनमैजु डोजोमा भर्ना भएकी एरिकाले अन्य खेलाडीले भन्दा आफूले छिटो सफलता पाएको अनुभव गर्छिन्। अनि सोच्छिन्, ‘मैले मेहनत पनि धेरै गरेको छु नी।’
मनमैजु डोजोबाट नेपाल पुलिस क्लब पुगेकी एरिका त्यहाँबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुगिन्। जुन यात्रा उनको दिमागमा सम्झनाको रुपमा आज पनि ताजै छ।
‘करातेको यात्रामा उत्साहीत केही छैन, गुरुहरूको सर्पोट नै ठूलो हो। डोजोबाट पुलिस क्लबमा पुगेर नयाँ नयाँ कुरा सिक्न पाउँदा खुसी लागेको थियो। क्लबमा पुग्न पाउनु नै ठूलो कुरा हो,’
उनले भनिन्, ‘डोजोबाट पुलिस क्लबबाट राष्ट्रिय टिममा धेरै गुरुहरूलाई भेटेँ। उहाँहरूबाट धेरै सिक्न पाएँ। मैले यी ठाउँमा फरक अनुभव भयो। टिम के हो भनेर थाहा पाएँ।’
एसियाडमा रजत जितेपछि एरिका यत्तिमा खुसी छैनिन्, एकदिन स्वर्ण जित्नुपर्छ भन्ने दृढ संकल्प उनले गरिसकेकी छिन्।
सुरुवातमा डोजोमा पुग्दा सधैँ कराते नै खेल्छु भन्ने एरिकाले सोचेकी थिइनन्। तर त्यहाँ पुगेपछि करातेमा लाग्न उनी प्रेरित भइरहिन्।
उनी थप्छिन्, ‘त्यहाँको वातावरणले नै यही बस्छु भन्यो र अहिले पनि यहीँ छु। राष्ट्रिय टिममा हुँदा पनि अहिले पनि डोजो जान मन लाग्छ। आफ्नो घर भनेको घर नै हुने रहेछ।’
एरिका सोच्छिन्, ‘जीवनमा एउटा कुरालाई फोकस गरेर मेहनत गर्यो भने एक समय चम्किने दिन आउँछ तर त्यसको लागि कडा मेहनत गर्नुपर्छ जस्तो लाग्छ।’
प्रतिक्रिया