ad ad

खेल


हङकङलाई ७९ रनले हराउँदै नेपाल एक खेलअगावै फाइनलमा

कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी साझेदारी
हङकङलाई ७९ रनले हराउँदै नेपाल एक खेलअगावै फाइनलमा

नेपालखबर
कात्तिक ४, २०८० शनिबार १४:३३, काठमाडौँ

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी प्रदर्शनमा घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ। 

शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो। 

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो।

नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। सिरिजमा २ खेल खेलेको हङकङ र एक खेल खेलेको यूएई अंकविहीन छन्। 

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो। 

हङकङलाई कम स्कोरमा रोक्न सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट आफ्नो नाममा गरे। 

हङकङविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका प्रतिश जिसीले १ विकेट लिए।

अंशी रथले बनाएको ४५ रन नै हङकङका लागि सर्वाधिक रह्यो। अजिज खानले २५ र बाबर हायातले २० रन थपे।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रनको योगफल तयार पारेको थियो। 

पाँचौँ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरे। पाँचौँ विकेटका लागि टी-२०आई क्रिकेटमा भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निशमले पाकिस्तानविरुद्ध १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए। 

कुशल मल्ल ९२ रनमा क्याच आउट भए। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का प्रहार गरे। 

३४ बलमा ६ चौका र २ छक्का हानेका दीपेन्द्र ५७ रनमा क्याच आउट भए। 

आशिफ शेख २० रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ११ रनमा बोल्ड आउट हुँदा सोमपाल कामी ८ रनमा क्याच आउट भए। 

सन्दीप जोरा र गुलसन झा समान १ रनमा नटआउट रहे। 

सिरिजको अन्तिम खेलमा नेपालले सोमबार यूएईसँग खेल्नेछ। 

समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .