अस्ट्रेलियामा एक क्रिकेट खेलाडीले खेलको अन्तिम ओभरमा ६ बलमा ६ विकेट लिएर ‘असम्भव’ कीर्तिमान कायम गरेका छन्।
गोल्ड कोस्टका ग्यारेथ मोर्गनले डिभिजन ३ को मजिराबा नेरङका लागि यस्तो दुर्लभ कीर्तिमान कायम राखेका हुन्।
विपक्षी टोली सर्फर्स प्याराडाइजले १७९ रनको पिछा गरिरहेको थियो। तर, उसको जित सुनिश्चितप्रायः भइसकेको थियो। किनभने सर्फर्सले मात्र ४ विकेटको क्षतिमा १७४ रन बनाइसकेको थियो।
सो टोलीलाई जितका लागि मात्र ५ रन आवश्यक थियो। हातमा ६ विकेट थियो।
खेलको अन्तिम ओभरमा बलिङ गर्न मोर्गन अघि सरे। उनले पहिलो बलमै विपक्षी ओपनर जेक गाल्र्यान्डलाई आउट गरे। जो ६५ रन बनाएर खेलिरहेका थिए।
त्यसपछि त उनले पूरै टोलीलाई सोत्तर पारे।
उनले लिएका सुरुवाती चार विकेट क्याच आउट थिए। पछिल्ला दुई बोल्ड भएका थिए।
आफूलाई यो सब अपत्यारिलो लागेको प्रतिक्रिया मोर्गनले दिए।
‘यसपालि हामीले राम्रो गरिरहेका थियौँ। अलि युवा बलरहरु थिए। तर, उनीहरुलाई अन्तिम ओभर गराउन चाहिनँ,’ उनले भने, ‘ह्याट्रिक गरेपछि भने म खेल हार्न चाहन्नँ भन्ने सोचेँ।’
‘अन्तिम बलमा जब स्टम्प ढलेको देखेँ, मलाई विश्वासै लागेन। मैले यस्तो कहिल्यै देखेको थिइनँ,’ उनले भने।
इतिहासमा नाम लेखाउन पाउँदा आफू खुसी भएको भनाइ छ। एजेन्सी
Shares
प्रतिक्रिया