ad ad

खेल


पहिलोपल्ट पाउने भए महिला क्रिकेटरले मासिक तलब

पहिलोपल्ट पाउने भए महिला क्रिकेटरले मासिक तलब

नेपालखबर
असोज ६, २०७७ मंगलबार १४:१७,

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यले पहिलोपल्ट मासिक तलब पाउने भएका छन। 

 चितवनमा मंगलबार भएको बोर्ड बैठकमार्फत नेपाल क्रिकेट संघ(क्यान)को महिला टोलीका सदस्यलाई केन्द्रीय सम्झौतामा आवद्ध गरेसँगै उनीहरुले मासिक तलब पाउने भएका हुन।

यसअघि पुरुष खेलाडीले मात्रै मासिक तलब पाउने गरेका थिए। क्यानले यसवर्ष देखि महिला राष्ट्रिय टोलीका सदस्यलाई तीन श्रेणीमा विभाजन गरेर मासिक तलब उपलब्ध गराउने निर्णय गरेको हो।

जसअनुरुप ए श्रेणीमा रहेका महिला खेलाडीले मासिक १५ हजार, बी श्रेणीमा रहेकाले १२ र सी श्रेणीमा रहेकाले १० हजार रुपैयाँ पाउनेछन्। जुन पुरुष खेलाडीले पाउनेभन्दा आधा कम हो। 

क्यानको बर्गिकरण अनुसार ए श्रेणीमा कप्तान रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी, बी श्रेणीमा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर छन। 

यस्तै सी श्रेणीमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले रहेका छन।

यस्तै पुरुषतर्फ १८ जना खेलाडीले क्यानले केन्द्रीय सम्झौतामा आवद्ध गरेको छ।

पुरुषतर्फ ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, बी श्रेणीमा सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ छन।

यस्तै सी श्रेणीमा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल ऐरी छन। पुरुषतर्फ ए श्रेणीमा पर्नेमा मासिक ५० हजार, बी मा पर्नेले ४० हजार र सी मा पर्नेले ३० हजार पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ।

असोज २८ मा साधारणसभा

क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो।

'परिस्थितिले अनुमति दिए भौतिकरूपमै उपस्थित भएर साधारणसभा गर्छौँ, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छु,' अध्यक्ष चन्दले भने।

यस्तै क्यानले आव २०७१/०७२ देखि ०७५/०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ। क्यान निलम्बनमा परेको बेला सो समयको लेखापरीक्षण भएको थिएन।

निर्वाचित क्यान आएर आइसीसीले फुकुवा गरेपछि बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो। त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै बन्द प्रशिक्षणको वातावरण तयार पार्नका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष चन्दले बताए।

आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ।

मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो।

नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ। सन् २०१७ र २०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो।

क्यानले उहाँलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो। यस्तै कर्णाली प्रदेशमा क्रिकेट विकासका लागि केन्द्रीय सदस्य पदम खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ।

यस प्रदेशमा एउटा मात्रै जिल्ला सुर्खेतमा क्यानको शाखा रहेको छ। यस्तै केही दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको क्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। भण्डारीको परिवारसँग, उनी आबद्ध नेपाल प्रहरी र दुर्घटना गराउने गाडीका धनीसँग छलफल गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

क्यानले सम्झौता गरेका खेलाडीको जीवन बीमाका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ। कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गा पाठक र छुम्बी लामा सम्मिलित तीन सदस्यीय समितिले पुरुष र महिला खेलाडी, ग्राउन्ड स्टाफ, अफिस स्टाफहरुको एक वर्षको जीवन बिमा गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .