ad ad

सुदूरपश्चिम


पाँच आंगिक क्याम्पस थप्ने सुदूरपश्चिम विश्वविद्यालयको तयारी

पाँच आंगिक क्याम्पस थप्ने सुदूरपश्चिम विश्वविद्यालयको तयारी

नेपालखबर
चैत २८, २०७९ मंगलबार १३:१२, काठमाडौँ

सुदूरपश्चिम विश्वविद्यालयले पाँच आंगिक क्याम्पस थप्ने निर्णय गरेको छ।

विश्वविद्यालयको विशेष साधारणसभाले बझाङका दुई, बैतडी, डडेल्धुरा र कञ्चनपुरका एक/एक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले जानकारी दिए। 

उनकाअनुसार कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस र बझाङदीप बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित विशेष साधारण सभाले सुदूरका थप पाँच कलेजलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको छ’, उनले भने।

सरकारले दरबन्दी स्वीकृतलगायतका प्रक्रिया टुंग्याएपछि मात्रै ती क्याम्पस विश्वविद्यालयको मातहतमा आउनेछन्। ‘यो विश्वविद्यालयकोतर्फबाट भएको निर्णय हो, दरबन्दी स्वीकृतलगायतका विषय सरकारसँग जोडिएका छन,’ सूचना अधिकारी बिष्टले भने।

वि.सं. २०७४ सालमा पनि विश्वविद्यालयले सुदूरपश्चिममा ६ आंगिक क्याम्पस थप्ने निर्णय गरेको थियो। त्यसबेला कञ्चनपुरको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, कैलालीको सुख्खड बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस, डोटीको केदारज्योति बहुमुखी क्याम्पस र दार्चुलाको शंकरपुर बहुमुखीलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो।

सरकारले दरबन्दी स्वीकृत लगायतमा कुनै निर्णय नगर्दा ती क्याम्पस अझै सुदूरपश्चिम विश्वविद्यालय मातहत आउन सकेका छैनन्। वि.सं. २०६८ सालमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको एक केन्द्रीय क्याम्पस र १५ आंगिक क्याम्पस सञ्चालनमा छन्।

अहिले टीकापुर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, त्रिवेणी बहुमुखी, घण्टेश्वर सेती महाकाली, जनता बहुमुखी, जयपृथ्वी बहुमुखी, बडिमालिका क्याम्पस, मणिलेक बहुमुखी र पाटन बहुमखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस छन्।

यस्तै, जगन्नाथ बहुमुखी क्याम्पस, गोकुलेश्वर बहुमुखी, कैलाली बहुमुखी, सीताराम बहुमुखी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया सुदूरपश्चिम विश्वविद्यालयसँग आबद्ध छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा चार सय ९१ जना प्राध्यापक र एक सय ७९ कर्मचारी छन् । २३ हजार तीन सय ९९ विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .