ad ad

सुदूरपश्चिम


भीमदत्तका प्रशासकीय अधिकृत भट्टसहित ९ जनाविरूद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा

भीमदत्तका प्रशासकीय अधिकृत भट्टसहित ९ जनाविरूद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा

नेपालखबर
चैत २९, २०७९ बुधबार १९:७, कञ्चनपुर

भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ९ जना कर्मचारी र ठेकेदारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। 

महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौं) दीपेन्द्र चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा नगरपालिकाले भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानी/नोक्सानी गरेको अख्तियारको ठहर छ।

अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ। भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरूद्ध पनि मुद्दा दायर गरिएको छ।

ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेको हुँदा उनकी श्रीमती खगेश्वरी भट्टबाट विगो रकम भराउन माग दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .