ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमबाट भूकम्प प्रभावित क्षेत्रतर्फ गएको चिकित्सक टोलीलाई कर्णाली सरकारले फर्काइदियो

औषधि दिएर सुर्खेतबाट फर्किए स्वास्थ्यकर्मी
सुदूरपश्चिमबाट भूकम्प प्रभावित क्षेत्रतर्फ गएको चिकित्सक टोलीलाई कर्णाली सरकारले फर्काइदियो

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १३:२८, कञ्चनपुर

भूकम्प प्रभावित क्षेत्रका लागि गएको सुदूरपश्चिमको चिकित्सकको टोलीलाई कर्णाली प्रदेश सरकारले फर्काएको छ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको स्वास्थ्यकर्मीको टोलीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाट फर्काएको हो।

औषधि बोकेर गएको चिकित्सकको टोलीलाई कर्णालीको सामाजिक विकास मन्त्रालयले तत्काल जनशक्ति पर्याप्त रहेको भन्दै फर्काएको छ।

‘अहिले जनशक्ति पर्याप्त छन्, आवश्यक परे पछि जानकारी गराउँछौँ भनेपछि हामीले पठाएको चिकित्सकको टीम फर्किएको हो,’ सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘औषधि हस्तान्तरण गरेका छौँ।’

कैलालीको सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर शिवराज पनेरुको नेतृत्वमा ४ सदस्यीय चिकित्सक टोली सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो।

टोलीमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् फोकल पर्सन हेमराज जोशी र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामी थिए।

शनिबार गएको टोली कर्णालीका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायतले तत्काल जनशक्ति आवश्यक नरहेको भनेपछि सो टोली औषधि हस्तान्तरण गरेर आइतबार राति नै फर्किएको हो।

चिकित्सकको टोलीले सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितका लागि पठाएको करिब चार लाख मूल्य बराबरको औषधि कर्णालीको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पपछि सुदूरपश्चिम प्रदेश सरकारले राहतका लागि तत्काल एक करोड रुपैयाँ र औषधि उपचारको लागि चिकित्सकको टोली पठाउने निर्णय गरेको थियो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जनशक्ति र औषधिको अभाव नरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .