सोमबार अपराह्न ४ बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर सडक भासिएपछि सोमबारदेखि यातायात बन्द छ।
यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
सडक भासिएको ठाउँमा ग्याबिन भर्ने काम सकिएपछि सडक खुल्ने धादिङ प्रहरीले जनाएको छ।
रातभर नै मर्मत गरेर हालसम्ममा लगभग काम सकिनै लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैयसवालले जानकारी दिए। उनका अनुसार सडक झण्डै २० मिटरभन्दा बढी भासिएका कारण रातभर ग्याबिन भर्दा पनि काम नसकिएको हो।
‘गहिरो भएर भासिएको छ, काम भइरहेको छ। नेपाल प्रहरी, सुरक्षा बल, नेपाल आर्मी, सबडिभिजन सबै लागेर रातभर काम गर्यौं। धेरै गहिरो भासिएका कारण बनाउन समय लागिरहेको छ। लगभग अहिले १० बजेसम्म वान–वे (एकतर्फी) बाटो खुलाउने प्रयासमा हामी लागिपरेका छौँ’, उनले नेपालखबरसँग भने।’
सडक मर्मतका लागि धादिङस्थित गणबाट थप फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।
सोमबार दिउँसो वर्षाका कारण धुनिबेँसी नगरपालिकाको वडा नम्बर ६ धार्केतर्फ पुलको एकाट्टिको भाग भासिँदा सडक बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय (धादिङ) ले तत्काललाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। काठमाडौँतर्फ जानेले ५ किला–फोगटपुर–बाइरोड सडक, जुङ्गेखोला–बाइरोड, सातकिला–बाइरोड, आठकिला–चिउरीपार्टी हुँदै धार्के र काठमाडौँबाट गल्छीतर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
Shares
प्रतिक्रिया