ad ad

कारोबार


पारस्परिक हितका क्षेत्रमा नेपालमा लगानी बढाउन चीन सहमत

पारस्परिक हितका क्षेत्रमा नेपालमा लगानी बढाउन चीन सहमत

नेपालखबर
चैत २५, २०७९ शनिबार ७:४९, काठमाडौँ

चीनले आफ्ना मुलुकका लगानीकर्ताहरूलाई पारस्परिक हितका क्षेत्रमा नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्ने भएको छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले उक्त कुरामा सहमति जनाएको हो। 

चीनको राजधानी बेइजिङमा शुक्रबार भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्र सचिव भरतराज पौड्यालले व्यापार घाटा कम गर्न नेपाली प्राथमिक उत्पादनहरू जस्तै– चिया, कफी, जडीबुटी, पकाएको भैंसीको मासुलगायत कृषिजन्य वस्तुलाई प्राथमिकता दिन प्रस्ताव गरेका थिए। 

त्यस क्रममा चिनियाँ पक्ष आफ्ना देशका लगानीकर्तालाई पारस्परिक हितका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने कुरामा सहमत भएको हो।  

चीनका तर्फबाट बैठकको नेतृत्व गरेका विदेश मामिलाका उपमन्त्री सुन वेइडोङले नेपालले एक चीन नीतिको निरन्तर पालना र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको सम्मान गरेकोमा प्रशंसा गरेका थिए।  परराष्ट्र सचिव पौड्यालले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति अहस्तक्षेप र सम्मान गर्ने चिनियाँ नीतिको प्रशंसा गरेका थिए।

बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्तीमार्फत बताएअनुसार, बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगको समीक्षा गर्दै द्विपक्षीय भ्रमण आदानप्रदान, आर्थिक सहयोगलगायत विभिन्न क्षेत्रमा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे छलफल भएको थियो। 

व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटीमा बृद्धि, कृषि, शिक्षा, संस्कृति र जन–जन सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। 

बैठकमा चीनको अनुदान सहयोगमा भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न ती आयोजना कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको जानकारी नेपाली राजदूतावासले दिएको छ। 

बैठकमा परराष्ट्र सचिव पौड्यालले नेपाललाई सामूहिक पर्यटनका लागि बाहिरी गन्तव्य मुलुकको सूचीमा राखेकोमा चीन सरकारको प्रशंसा गरेका थिए। 

दुई पक्षबीच जनसम्पर्क र सांस्कृतिक सहयोग प्रवर्द्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई छात्रवृत्तिको सङ्ख्या बढाउने, विज्ञहरूको क्षमता विकासलगायत विषयमा पनि छलफल भएको बताइएको छ। 

सो अवसरमा दुवै पक्षले संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्य र एकअर्काको उम्मेदवारीमा पारस्परिक सहयोग आदानप्रदानको समीक्षा गरेका थिए। संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरूको कार्यान्वयनको महत्त्व र एजेन्डा प्रवर्द्धन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो। 

बैठकमा परराष्ट्र सचिव पौड्याल, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली राजदूतावासका अन्य कर्मचारी सहभागी थिए। 

चिनियाँ टोलीको नेतृत्व गरेका उपमन्त्री सुनसँग चिनियाँ परराष्ट्र मन्त्रालयका अन्य अधिकारी सहमति भएको नेपाली राजदूतावासले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .