ad ad

कारोबार


पैसा छ, लगानी गर्ने वातावरण बनेन : गोल्यान

पैसा छ, लगानी गर्ने वातावरण बनेन : गोल्यान

फाइल तस्वीर


रासस
चैत २९, २०७९ बुधबार ७:३१, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन्।

सीबीफीनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्थाहरू डराइरहेको बताए। 

'अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोवल खस्किएको छ। लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन्। सङ्गठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्, यो गलत हो भन्ने कुरा मिडियाले पनि उठाइदिनुपर्ने अवस्था आएको छ,' उनले भने।

उनले उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लिइने ब्याजदर अनुत्पादक क्षेत्रमा गरिने लगानीमा लिइनेभन्दा दुईदेखि पाँच प्रतिशत कम हुनुपर्ने बताए।

अहिले आयात बढेर विलासिता वस्तु खरिदमा रकम बाहिरिने डरले ब्याजदर घटाउन डराउनुपरेको उनको भनाइ थियो। तर ब्याजदर बढी हुँदा बैंकमा पैसा बढी थुप्रिने र अर्कोतर्फ व्यवसायीले अहिलेको ब्याजदर धान्न अवस्था नभएकाले ब्याजदर घट्नु अनिवार्य रहेको उनले बताए।

उनले साना जलविद्युत्मा आधारित ऊर्जा क्षेत्रमा बैंकिङ क्षेत्रबाट रु दुई खर्ब लगानी भएको बताउँदै अब आर्थिक समृद्धिमा जोड दिन हाम्रो सम्भावनालाई ध्यान दिएर नीति–निर्माण गरिनुपर्नेमा जोड दिए।

अध्यक्ष गोल्यानले अहिले उद्योगले ऋणको ब्याज तिर्न नसकिरहेको र निरन्तर यही ब्याजदर धान्न नसकिने भएकाले वैशाखदेखि नै ब्याजदर घटाइनुपर्ने बताए। चाहिनेभन्दा बढी लगानी सिमेन्ट र डन्डीका क्षेत्रमा लगानी भएको बताउँदै अब अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

यसैगरी सीबीफीनका सचिव पुष्पशरण मल्लिकले ब्याजदर कम राख्नका लागि बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कमको मुद्दति बचतलाई निरुत्साहित गर्नुपर्ने बताए।

'ब्याजदर कम कायम गर्न लागत कम हुनुपर्छ । यसका लागि एक वर्षभन्दा कम अवधिको मुद्दति बचतलाई निरुत्साहित गर्नु आवश्यक छ,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .