ad ad

कारोबार


कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

कैदीबन्दीलाई  मुढा बनाउन भ्याइनभ्याई

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १५:२७, काठमाडौँ

जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ। चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ। म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए।

‘एक महिनाअघि एक हजार छ सयवटा मुढाको माग आएको थियो’, उनले भने, ‘आठ सय २० वटा पठाइसक्यौँ। बाँकी मुढा बनाउन व्यस्त छौँ।’
कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन्।

प्रतिगोटा मुढा रु चार सय ५० का दरले कारागारबाटै बिक्री भएको हो । खुद्रा प्रतिगोटा रु पाँच सयका दरले बेच्ने गरेका छन्। बाँस र पलास्टिकको रसी किनेर बुढा बनाउने गरेका छन्। कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र पलास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले बताए।

बेनी नगरपालिका–२ खबरामा रहेको कारागारमा ८० पुरुष र तीन महिला कैदीबन्दी छन्। यो कारागार सात महिलासहित ३२ जना क्षमताको हो। कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेका चौकीदार रोकाले बताए। यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए।

एक मुढा बुन्न बढीमा दुई दिन लाग्ने गरेको छ । छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन् । ग्राहकको मागअनुसार आकार र डिजाइनको मुढा बनाउने गर्छन् । मुढा व्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको बताउनुभयो ।

‘म्याग्दीका साथै बागलुङ, भीमफेदी र पूर्वी नेपालका कारागारका कैदीबन्दीले बुनेका मुढा सङ्कलन गरेर चीन पठाउन थालिएको छ’, उनले भने, ‘कैदीबन्दीले तयार पारेपछि थप मुढा पठाउने तयारी छ।’
उनका अनुसार चीनमा खेतबारीमा गोडमेल गर्न, सडक सफा गर्ने र बस्नका लागि मुढाको प्रयोग हुन्छ।   

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ। चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ। चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने चलन छ।

निर्यात रोकिँदा र आन्तरिक बजार नहुँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको थियो। निर्यात खुलेपछि चीनबाट माग आउन थालेपछि कैदीबन्दी उत्साहित भएका छन्। कारागारमा उद्योग तथा पर्यटन कार्यालयलगायत विभिन्न निकाय र सङ्घसंस्थाले कैदीबन्दीलाई मुढा बुन्ने सीपमूलक तालिम दिएका थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .