ad ad

कारोबार


सेयर बजार बढाउने माध्यम बन्ला मौद्रिक नीति?

सेयर बजार बढाउने माध्यम बन्ला मौद्रिक नीति?

नेपालखबर
साउन ७, २०८० आइतबार १८:६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा लचकता देखाएपछि लगानीकर्ता उत्साहित देखिएका छन्। मौद्रिक नीतिले सेयर धितोकर्जामा लाग्दै आएको १ सय ५० प्रतिशतको जोखिम भारलाई १ सय प्रतिशतमा पुर्याएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो।

मौद्रिक नीति सार्वजनि हुनु अघिसम्म २१ सय ७७ अंकमा रहेको नेप्से त्यसपछि भने ह्वात्तै २२२८ अंकमा पुगेको थियो। सेयरधितो कर्जामा राष्ट्र बैंकले कर्जालाई कस्न जोखिमभार १ सय प्रतिशतबाट बढाएर १ सय ५० प्रतिशत पुर्याएको थियो। जसले गर्दा सेयर लगानीकर्ताले मार्जिन प्रकृतिका कर्जा लिन कम गरेका थिए।

ठूला लगानीकर्ताले धितोकर्जाबाट सेयर लगानी गर्न छोडेपछि संकुचित वन्न पुगेको सेयरबजार त्यसपछि उति फस्टाउन सकेको थिएन। दैनिक २२ अर्बको कारोबार हुने बजार त्यसपछिका दिनहरुमा मरितरि ५ अर्ब माथि पुग्न सकेनन्।

झण्डै दुई वर्षसम्म कर्जामा कडाई गरेको राष्ट्र बैंकले चालु वर्षबाट पुनः पुरानै व्यवस्था अनुसार सेयर धितोकर्जाको जोखिमभार घटाएको हो। यसले सेयरबजार क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुर्याउने छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २५ लाखको सीमालाई ५० लाखमा पुर्याएको जानकारी दिए।

उनले भने, ‘हामीले ५० लाखसम्मको सेयरधितो कर्जाको जोखिमभार १ सय प्रतिशत पुर्याएका हौँ। ५० लाखभन्दा माथिको कर्जामा १ सय ५० प्रतिशत जोखिमभार कायमै छ।’

गभर्नर अधिकारीले लगानीकर्तालाई अन्यौलमा नपर्न भन्दै ५० लाखसम्मको मात्रै जोखिमभार पुरनावलोकन गरिएको बताए। लगानीकर्ताले भने भने समग्रका धितो कर्जामा लाग्ने जोखिमभारलाई १ सय प्रतिशतमा पुर्याउनुपर्ने माग राख्दै आएकामा राष्ट्र बैंकले माग थोरै मात्रै समेटेको हो।

लगानीकर्ता अम्बिका प्रसाद पौडेल राष्ट्रबैंकले धितोकर्जामा थोरै लचक देखिँदा त्यसको असर बजारमा सकारात्मक नै देखिने धारणा राखे। समग्रमा मौद्रिक नीति सेयरबजार क्षेत्रमा औसत रहेको उनको भनाई छ।

‘गत वर्षको तुलनामा केही लचक नीति राष्ट्र बैंकले लिएपनि यसले लगानीकर्ता धेरै नै उत्साहित बनाउने खालको भने देखिँदैन समग्रमा अहिलेको अवस्थालाई नियन्त्रण गर्ने गरि राष्ट्र बैंकले औसत नीति ल्याएको छ’ उनले भने, ‘आंशिक माग पुरा भएको छ। यसअघि १२ करोडको सीमा हटाउनुपर्ने माग गरिएपनि यो मौद्रिक नीतिले छोएको छैन। धितो कर्जामा भने केही लचक देखाएको छ। यो पनि खुसीकै कुरा हो।’

राष्ट्र बैंकले जोखिमभार मौद्रिक नीतिमा उल्लेख गरेपनि कर्जाको सीमालाई भने छोएको छैन। अर्थात राष्ट्र बैंकले लगाउँदै आएको १२ करोडको क्यापलाई मौद्रिक नीतिले छोएको छैन।

नेपाल क्यापिटल मार्केन्ट इन्भेष्टर एसोसिएसनकी अध्यक्ष राधा पोखरेल मौद्रिक नीति लगानीकर्ताका लागि उत्साहजनक नै रहेको धाराणा राख्छिन्।

‘सेयर धितो कर्जाको जोखिमभारलाई पुनरावलोकन गरिने भनिएको छ यसले सेयर बजारमा उत्साह ल्याउँछ। गएको दुई वर्षदेखि घटिरहेको बजारलाई चालु मौद्रिक नीतिले मल्हमपट्टी लगाने आशा गरेका छौँ’ उनले भनिन्।

धितोकर्जामा जोखिमभार बढाएपछि ऋणमा उत्साहित नबनेका लगानीकर्ताले गत जेठ मसान्तसम्ममा ७४ अर्ब ६९ करोड रुपैयाँमात्रै धितोकर्जा लिएका थिए। अब जोखिमभारलाई कम गरेपछि सेयरबजारमा लगानी बढ्ने बाटो खुलेको छ। यसले बजारलाई थप चलायमान बनाउने लगानीकर्ताको आशा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .