इरानी कवि सवीर हकाका कविताले बिजुलीको जस्तो झट्का दिन्छन्।
उनको जन्म सन् १९८६ मा करमानशाहमा भएको थियो। हाल उनी तेहरानमा बस्छन्। घर निर्माणको काम गर्छन्। उनका दुईवटा कविता संग्रह प्रकाशित छन्। इरान श्रम कविता प्रतियोगितामा प्रथम पुरस्कार पाइसकेका छन्।
कविताले पेट नभरिने बताउने उनी कविता शौकका लागि लेख्ने र पेट भर्न मजदुरी गर्ने बताउँछन्।
आफूलाई जन्मजात मजदुर बताउँछन् उनी।
एक अन्तर्वार्तामा उनले भनेका थिए, 'म थाकेको छु। निकै थाकेको छु। जन्मिनु अघिदेखि म थाकेको थिएँ। म गर्भमा हुँदा आमा मजदुरी गर्थिन्, म त्यसबेला देखि मजदुर हुँ। म मेरी आमाको थकान महसुस गर्न सक्छु, त्यो थकान अझैँ मेरो शरीरमा छ।'
विश्व मजदुर दिवस अर्थात् मे १ का दिन प्रस्तुत छन् उनका १० कविता:
किम्बु
के तपाईंले कहिल्यै किम्बु देख्नुभएको छ?
जहाँ जहाँ खस्छन् त्यसका दाना
त्यहीँ त्यहीँ त्यसका रक्ताम्मे दाग बस्छन्
खस्नुभन्दा पीडादायी केही हुँदैन
मैले अग्ला भवनहरूबाट
खस्दै गरेका कयौँ मजदुर देखेको छु
मजदुरहरू खसेपछि किम्बु बन्दछन्
ईश्वर
ईश्वर पनि एक मजदुर हो
पक्कै पनि ऊ वेल्डरहरूलाई वेल्डिङ गर्ने काम गर्छ
गोधुलीको प्रकाशमा
ईश्वरका आँखा अग्निको लप्काझैँ लाल लाल हुन्छन्
रातमा उसको कमिजमा प्वाँलैप्वाँल पर्छन्
बन्दुक
तिनीहरूले बन्दुक नबनाएको भए?
कति मान्छे टाढैदेखि मारिनबाट बच्दा हुन्
कति धेरै काम सजिलो हुँदा हुन्
मजदुरको शक्तिवोध गराउन पनि
धेरै सजिलो हुने थियो
मृत्युभय
जिन्दगीभर मैले यो विश्वास गरेँ
झूटो बोल्नु गलत हो
खराब काम हो कसैलाई दु:ख दिनु
जिन्दगीभर मैले यो पनि स्वीकार गरेँ
मृत्यु पनि जीवनको एक हिस्सा हो
यसका बाबजुद पनि मलाई मर्न डर लाग्छ
डर लाग्छ कतै मृत्युपछि
परलोकमा पनि मजदुरी गर्नपर्छ कि सोचेर
आस्था
मेरा बा मजदुर थिए
जबजब उनी नमाज पढ्थे
अल्लाह उनका हात देखेर लज्जित हुन्थ्यो
राजनीति
ठूला ठूला परिवर्तनहरू
कति सहज भइदिनसक्छन्
मजुरलाई राजनीतिक कार्यकर्तामा बदल्न पनि
कति सहज भएको छ है?
क्रेनहरू यी बदलावलाई उठाएर
सुलीसम्म पुर्याइदिन्छन्
(इरानी शासकले एक दशकअघि 'क्रेन अभियान' चलाएका थिए। शासकहरूले विरोधीलाई क्रेनमा झुण्डाएर सार्वजनिक स्थानमा सुलीमा चढाउँथे। मानव अधिकार आयोगको तथ्यांकअनुसार सन् २०११ मा ५११ र २०१२ मा यसरी ६७० जनालाई मारिएका थिए।)
मित्रता
म ईश्वरको साथी होइन
यसको एउटै कारण छ
जतिबेला ६ जनाको मेरो परिवार
साँघुरो एक कोठामा बस्न बाध्य थियो
त्यतिबेला ईश्वरसँग एक ठूलो दरबार थियो
त्यहाँ ऊ एक्लै बस्थ्यो
घर
म संसारका सबै मान्छेलाई भन्न सक्छु यो शब्द
दुनियाँका हरेक देशलाई भन्न सक्छु
म आकाशलाई पनि भन्न सक्छु
भन्न सक्छु ब्रम्हाण्डका हरेक एक वस्तुलाई
तर काठमाडौंको यो बिना झ्यालको कोठालाई
म घर बन्न सक्दिनँ
सरकार
केही समययता
प्रहरीले मलाई खोजिरहेको छ
मैले कसैको हत्या गरेको छैन
सरकारविरुद्ध केही लेखेको पनि छैन
न त केही अपराध नै गरेको छु
तर पनि केही समयदेखि
मलाई खोजिरहेको छ प्रहरीले
तिमी, केवल तिमी जान्दछ्यौ ए झूमा
सरकार मसँग डराइरहेको छ
कि म एक मजदुर हुँ
यदि क्रान्तिकारी वा विद्रोही भएको भए
के गर्दो हो यो सरकार?
एउटै डर
जब म मर्नेछु
आफूसँगै मेरा सबै प्रिय किताब लिएर जानेछु
आफ्नो चिहानलाई
म तिनका तस्बिरहरूले भर्नेछु
जसलाई मैले प्रेम गरेको थिएँ
म पल्टिरहनेछु
चुरोट सल्काउनेछु
रुनेछु, ती सबै युवतीलाई सम्झिएर
जसलाई म माया गर्थेँ, अँकमाल गर्न चाहन्थेँ
यी सारा खुसीका बीच पनि
एउटा डर त बाँकी नै रहनेछ
एक दिन बिहानबिहानै
कोही काँध हल्लाउँदै ब्युँझाउनेछ मलाई
र भन्नेछ- उठ् बे सवीर, काममा जाने बेला भयो
(गीत चतुर्वेदीले हिन्दी साहित्यिक पत्रिका अमरउजालाका लागि अनुवाद गरेको सामग्रीबाट)
Shares
प्रतिक्रिया