ad ad

कला


काला पत्थरमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

काला पत्थरमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

नेपालखबर
असार ९, २०८१ आइतबार १२:१९, काठमाडौँ

नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले विश्व कीर्तिमान राखेका छन्। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन्। 

सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा नृत्य गरेका थिए। काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ। सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन्।

यति ठूलो हाइटमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने प्रयास गरेका हुन्।

सुसन र सुरेन्द्रले ‘मन मगन’ बोलको गीतको प्रस्तुति दिएका थिए। जुन साढे दुई मिनेट लामो छ। फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए।

उनीहरुको यो प्रयासलाई ‘गिनिज वल्र्ड रेकर्ड’ ले अनुमोदन गरेको छ। रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो।

रेकर्ड राख्न सफल भएपछि सुरेन्द्र र सुसनले खुसी व्यक्त गरे। उनीहरुले भने, ‘हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ।’

खराब मौसमको बावजुद पनि यो जोडीले आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको हो। कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए। सानुले आठ हजार मिटरको चौधवटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .