ad ad

ग्लोबल


१२ चोटि प्लास्टिक सर्जरी गरेका व्यक्तिको मृत्यु– के विश्वभरका सञ्चारमाध्यमलाई एआईले ठगेको हो?

१२ चोटि प्लास्टिक सर्जरी गरेका व्यक्तिको मृत्यु– के विश्वभरका सञ्चारमाध्यमलाई एआईले ठगेको हो?

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार २०:२९,

हालै कोरियाली गायकजस्तो बन्न १२ प्लास्टिक सर्जरी गरेका एक क्यानडेली अभिनेताको मृत्यु भएको समाचारले विश्वभरका सञ्चारमाध्यममा ठाउँ पाएको थियो। 

ती समाचारअनुसार २२ वर्षीय सेन भन कोलुच्चीले कोरियाली ब्यान्ड बीटीएसका सदस्य जिमिनजस्तो देखिन प्लास्टिक सर्जरीमा २ लाख डलर खर्च गरेका थिए। हालै उनले एक आउँदो कोरियाली ड्रामामा भूमिका पनि पाएका थिए र कोरियामै उनको मृत्यु भएको थियो।

तर, यी समाचारको समस्या एउटै थियो– भन कोलुच्ची सायद अस्तित्वमै थिएनन्।

पछिल्ला प्रमाणहरुले यो समाचार र भन कोलुच्ची आर्टिफिसियल इन्टेलिजेन्सको उत्पादन भएको देखाउँछन्। जसले अमेरिका र क्यानडादेखि बेलायत, दक्षिण कोरिया, भारत, मलेसियालगायतका मुलुकका दर्जनौँ सञ्चारमाध्यमलाई झुक्यायो।

यो सञ्चारमाध्यमहरुलाई सामूहिक रुपमा झुक्याउन एआईको प्रयोग भएको पहिलो घटनाजस्तो देखिन्छ।

यसैसाता विश्वभरका पत्रकारहरुले एउटा प्रेस विज्ञप्ति प्राप्त गरेपछि यसको सुरुवात भएको हो। जसमा अप्रिल २३ का दिन सोलको एउटा अस्पतालमा भन कोलुच्चीको मृत्यु भएको घोषणा गरिएको थियो।

भद्दा तरिकाले लेखिएको सो विज्ञप्ति हाइप पब्लिक रिलेसन्स नामक एजेन्सीले पठाएको थियो। यद्यपि, त्यसमा अनेकौँ समस्या थिए।

विज्ञप्तिमा राखिएका अनेकौँ वेब लिंक खुल्दैनथे। उनको मृत्यु भएको भनिएको अस्पताल त अस्तित्वमै छैन।

हाइपको वेबसाइट नै केही साताअघि मात्र दर्ता गरिएको थियो। त्यहाँ उल्लिखित नम्बरमा फोन गर्दा उठेन। पछि सो नम्बरबाट ‘के चाहियो?’ भनेर मेसेज आयो। 

गीतकार भने पनि भन कोलुच्चीको अनलाइन उपस्थिति धेरै थिएन। उनको मृत्युको शोक मनाउन कोही पनि सार्वजनिक रुपमा अघि सरेको छैन।

अनलाइनमा भएका उनको फोटोहरु सबै धमिला र एडिटेड देखिन्छन्।

उनले लेखेको गीत समावेश भएको भनिएको एल्बम ‘टिकटक हाइ स्कुल’ कुनै पनि मूलधारको स्ट्रिमिङ सेवामा उपलब्ध छ्रैन।

अघिल्लो वर्ष जारी गरिएको एउटा विज्ञप्तिमा भन कोलुच्चीलाई ‘युरोपको प्रमुख हेज फन्ड कम्पनी आईबीजी क्यापिटलका सीईओ जिओभानी लमासको दोस्रो छोरा भनिएको छ। तर, लमासको कुनै अनलाइन उपस्थिति छैन। जबकि आईबीजी क्यापिटलको ठेगाना अमेरिकामा देखिन्छ। 

यसका बाबजुद सञ्चारमाध्यमले यो समाचार व्यापक रुपमा छापे। कतिपयले त समाचार सनसनीपूर्ण बनाउन पहिले र पछिको फोटो पनि सँगै राखे।

डेली मेल अनलाइनले पहिले यो समाचार छापेपछि विश्वभरका अरु मिडियाले पनि त्यसलाई पछ्याएका थिए।

तर, बुधबार डेली मेलले कुनै कारण नबताई यो समाचार डिलिट गरेको छ।

अरु दर्जनौँ नाम चलेको सञ्चारमाध्यममा यो समाचार अझै छ।

दक्षिण कोरियाको प्रहरीले क्यानडेली अभिनेताको मृत्युका विषयमा कुनै रिपोर्ट नपाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यो छलको घटना एआईले ल्याउनसक्ने समस्याको एउटा संकेत हो। जसले सत्य र कल्पनाबीचको भेद त मेटाउन सक्छ नै, व्यावसायिक पत्रकार र समाचारको भविष्यमा पनि प्रश्न उठाउन सक्छ।

पछिल्लो समय च्याटजीपीटीलगायत प्लाटफर्मले मानिसकै जसरी विश्वासलाग्दो समाचार लेख्न सक्छन् भने एआईलाई प्रयोग गरी वास्तविक व्यक्तिकै झुटा भिडिओ र तस्बिर समेत उत्पादन गर्न सकिन्छ। अल जजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .