राष्ट्रपति भ्लादिमिर पुटिनले देशद्रोहको आरोप लगाएपछि वाग्नर समूहका प्रमुख यव्गेनी प्रिगोजिनले त्यसको खण्डन गरेका छन्।
युक्रेनमा लडिरहेको सो समूहले रुसी सीमाभित्र पसेर रोस्तोव अन दोन सहर कब्जा गरेको छ। आफूहरुलाई रोक्ने जोसुकैसँग लड्ने प्रिगोजिनले बताएका छन्।
‘हामी सबै मर्न तयार छौँ। २५ हजार सबै। अनि अर्को २५ हजार,’ प्रिगोजिनले भनेका छन्, ‘हामी रुसी जनताका लागि मरिरहेका छौँ।’
शुक्रबार साँझ प्रिगोजिनले भिडिओ तथा अडिओ पोस्ट गर्दै रुसी सेनाविरुद्ध विद्रोहको घोषणा गरेका थिए। उनले रुसी सेनाले आफूहरुलाई निसाना बनाएर आक्रमण गरेको आरोप लगाएका थिए। जसलाई रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको थियो।
शनिबार पुटिनले वाग्नर समूहले रुसको पिठ्युँमा छुरा रोपेको बताएका थिए। विद्रोहको कठोर जवाफ दिने उनको भनाइ थियो।
रुसको रक्षाका लागि जुनसुकै कदम उठाउने पुटिनले चेतावनी दिएका छन्।
राजधानी मस्कोमा सम्भावित आतंकवादी हमला रोक्न भन्दै सतर्कता अपनाइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया