ad ad

ग्लोबल


भारत–क्यानडा तनावबीच जयशंकरले भेटे अमेरिकी विदेशमन्त्री

भारत–क्यानडा तनावबीच जयशंकरले भेटे अमेरिकी विदेशमन्त्री

नेपालखबर
असोज १२, २०८० शुक्रबार ८:१८, काठमाडौँ

खालिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक विवाद भइरहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गरेका छन्। 

दुई नेताबीच बिहीबार वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयमा द्विपक्षीय बैठक भएको बीबीसीले जनाएको छ। 

उक्त बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘यहाँ फर्केर आउँदा राम्रो लाग्यो। भर्खरै हाम्रा प्रधानमन्त्री यहाँ आएका थिए। जी२० शिखर सम्मेलनमा सबै मुद्दामा समर्थनका लागि अमेरिकालाई धन्यवाद।’

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पनि यस भेटमा आफूहरूबीच ‘धेरै राम्रो छलफल’ भएको प्रतिक्रिया दिएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार दुवै जनाले भेटवार्तापछि मिडियाबाट कुनै प्रश्न लिएनन्। 

यो भेट हुनुअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई सोधिएको थियो– दुई देशका नेताले बैठकमा क्यानडाको बारेमा पनि कुरा गर्छन्? 

जवाफमा उनले भनेका थिए, ‘म हुने कुराकानीको पूर्वानुमान गर्न चाहन्नँ, तर हामीले स्पष्ट गरिसकेका छौं, हामीले यो मुद्दा हाम्रा भारतीय समकक्षीहरूसँग उठाएका छौँ र क्यानडालाई अनुसन्धानमा सहयोग गर्न अपिल गरेका छौँ।’ 

गत हप्ता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशको संसदमा हरदीप सिंह निज्जरको हत्यामा भारतको हात हुनसक्ने आशंका व्यक्त गरेका थिए।

भारतले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई बेतुकको कुरा भनेको छ।

त्यसपछि दुई देशबीच कूटनीतिक तनाव बढेको छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका छन्। भारतले क्यानाडाली नागरिकका लागि भिजा सेवा पनि बन्द गरेको छ।

क्यानडाले यस विषयमा अनुसन्धान गरिरहेको छ। अमेरिकाले आरोप गम्भीर रहेको र भारतले यसको अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएको छ।

तर क्यानडासँग कस्तो प्रमाण छ भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .