महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवी ठाकुरले आफूमाथि बोतल प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरले आरोप लगाएका छन्।
कार्यकक्षभित्रै आसमान नेपालका कर्मचारीसँग छलफल गरिरहेको समयमा आफूमाथि उपप्रमुख रामदुलारीले पानीको बोतल प्रहार गरेको उनले बताए।
बलवा नगरपालिका वडा नम्बर–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग नसोधि रोकेको भन्दै उपप्रमुखले कार्यकक्षमै बोतल प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरले गुनासो गरे।
प्रमुख प्रशासकीय अधिकृत ठाकुरले उपप्रमुखको योजनाअन्तर्गत रहेको सो सडक २५ लाखको लागतमा निर्माण भइरहेको अवस्थामा स्थानीयले ९ फिट मात्र नभई १४ फिट सडक निर्माण गर्नुपर्ने माग गर्दै कार्यालयमा लिखित जानकारी दिँदा आफूले काम रोक्न लगाएको बताए।
उनले स्थानीयको मागलाई ध्यानमा राख्दै काम रोकिएको र सोही कुरालाई इस्यु बनाएर उपप्रमुखले आफूलाई दुर्व्यवहार गरेको बताए।
यता, उपप्रमुख ठाकुरले आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गरेकी छन्।
उनले भनिन्, ‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन कार्यालय सहयोगीलाई ३ पटक उनको कार्यकक्षमा पठाएँ। तरपनि उहाँ आउनु भएन। मैले पटक पटक फोन गर्दा फोन उठाउनु भएन।’
अगाडि भनिन्, ‘उहाँ नआएपछि म आफैं उहाँको कार्यकक्षको गेटमा पुगेर कृपया यहाँ आउनुस् मलाई तपाईंसँग कुरा गर्नुछ भन्दा उल्टै तपाईंसँग म कुनै कुरा गर्न चाहँदिन भनेर मेरो अपमान गर्नुभयो।’
उपप्रमुख ठाकुरले सोही क्रममा सामान्य भनाभन भइरहँदा प्रमुख प्रशासकीय अधिकृत ठाकुरले नै आफूमाथि मुक्का प्रहार गर्ने प्रयास गरेको आरोप लगाइन्।
उनले मुक्का प्रहार गर्नै लाग्दा स्वयंलाई बचाउन आफूले त्यहाँ नजिकै रहेको पानीको बोतल मात्रै उठाएको बताइन्। तर, आफूले सो बोतल प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहार भने नगरेको उनको दाबी छ।
Shares
प्रतिक्रिया