प्रदेश सरकारमातहत प्रहरी नरहे पनि मुख्यमन्त्रीको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरी खटाइएको हुन्छ। तर सुरक्षा घेराबीच पनि आफ्नै गोजीबाट पैसा चोरी भएको गुनासो मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका छन्।
मुख्यमन्त्री यादवले खल्तीबाट एकपटक हैन, दुई/दुई पटक पैसा चोरी भएको सुनाए। उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित कार्यक्रम यो घटना सुनाएका हुन्।
उनले आफू सभामुख हुँदा गढिमाई मेलामा जाँदा ५० हजार रुपैयाँ चोरी भएको र मुख्यमन्त्री हुँदा पनि उपेन्द्र यादवको विजयी जुलुसमा सहभागी भएका बेला पैसा चोरी भएको सुनाए।
उनले मुख्यमन्त्रीकै गोजीबाट दुई/दुईपटक पैसा चोरी हुन्छ भने आम नागरिकको शान्ति सुरक्षाको अवस्था कस्तो होला भनी प्रश्न गरे।
यादवले संघीय सरकारले आफनो अधीनमा प्रहरी राखेकाले जनतालाई चाहेर पनि सुरक्षा दिन नसकेको बताए। उनले संघीय सरकारलाई प्रहरी समयोजन अविलम्ब गर्न आग्रह गरे।
मुख्यमन्त्री यादवले प्रहरी समायोजन त परै जाओस्, केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वयसम्म नगरेको आरोप लगाए।
प्रदेश सरकारसँग समन्वय नगरेसम्म कुनै पनि हालतमा शान्ति-सुरक्षाको प्रत्याभूत गराउन नसकिने उनको जिकिर छ।
प्रदेशमातहत प्रहरी-प्रशासन आए कुनै पनि अपराधीलाई नछाडिने र त्यस्ता प्रवृत्तिका व्यक्तिलाई कालकोठरीमा पुर्याइछाड्ने दाबी मुख्यमन्त्री यादवले गरे।
Shares
प्रतिक्रिया