मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मंगलबार एक घण्टा लामो बयान दिएका छन्।
सोमबार लिखित स्पष्टीकरण बुझाएका उनीसँग अनुशासन समितिले मंगलबार एक घण्टा लामो बयान लिएको हो।
डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचारण समितिमा लिखित स्पष्टीकरणपछि मौखिक बयानका क्रममा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान राखेका छन्। सोमबार ईमेलमार्फत बुझाएको स्पष्टीकरणमा पनि उनले त्यही कुरा उल्लेख गरेका थिए।
प्रसाईसँग २ करोड मागेको प्रकरण : सांसद ढाकाले पार्टीमा बुझाए लिखित स्पष्टीकरण
'उहाँ (ढाकाकुमार) सँग एक घण्टा बयान भयो', समितिका एकजना सदस्यले नेपालखबरसँग भने, 'उहाँले झन्डै ४५ मिनेट पार्टीमा गरेको योगदानको कुरा गर्नु भयो। गण्डकी प्रदेशदेखि केन्द्रसम्म पार्टी निर्माण र विस्तारमा दिएको योगदानको पनि चर्चा गर्नु भयो।'
लामो भूमिका बाँधेर बयान दिएका श्रेष्ठले अन्तिममा मेडिल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको भनिएको अडियो आफ्नो नभएको उल्लेख गरेका हुन्।
'अन्तिममा उहाँले यो मेरो आवाज होइन, इडिटेड हो भन्नु भयो', बयानमा सहभागी ती सदस्यले भने, 'र, उहाँ त्यसमै अडिग रहनु भयो।'
ढाकासँग बयानपछि अनुशासन समितिले २ करोड प्रकरणको अनुसन्धान प्रतिवेदन मंगलबार नै सभापति रवि लामिछानेलाई बुझाएको छ।
'हाम्रोतर्पबाट अनुसन्धान समितिले प्रतिवेदन सभापतिलाई पठाइसकेको छ', उनले भने, 'अब भोलि रास्वपाको ९ बजे केन्द्रीय कमिटी बैठक छ, त्यो बैठकबाट उहाँलाई कारबाही गर्ने नगर्नेबारे हुन्छ।'
उनले ढाकाको लिखित स्पष्टीकरण र बयानसहितलाई समावेश गरेर लेखेर पठाइएको बताए। 'अब हामीले उहाँले जे भनेको त्यही लेखेर पठाइदिएका छौँ', उनले भने, '५० घण्टामा हामीले सभापतिलाई प्रतिवेदन बुझाइसकेका छौँ। अब कारबाही प्रक्रिया कसरी लाने भन्ने उहाँ (सभापति) ले गर्नु हुन्छ।'
मंगलबार मात्रै रविले चितवनको कालिकामा चुनावी सभालाई सम्बोधनका क्रममा अझै २० घण्टा समय बाँकी रहेकाले आफूले भनेकै समयमा कारबाही गर्ने बताएका थिए।
उनले रुपैयाँ माग्नेहरु बोरामा कुहिएका केही आलु भन्दै काराबही गरेर छाड्ने बताएका थिए। उनले प्रसाईसँग रकम मागिएको उक्त अडियो तीन महिना पहिलेको भए पनि अहिले चुनावको मुखमा सार्वजनिक गरिएको बताए।
रास्वपामा डा. देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समिति छ। जसको सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन्। यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठमाथि थप कारबाही गर्ने छ।
यसअघि आइतवार विज्ञप्ति निकालेर श्रेष्ठले आफूले २ करोड रुपैयाँ मागेको भनेर सार्वजनिक अडिओको आवाज आफ्नो नभएको दाबी गरेका थिए।
उक्त अडियोमा श्रेष्ठले आफ्ना सभापति रवि लामिछानेका मान्छेले मन्त्री बन्ने भए २ करोड बुझाउन भनेको र त्यो पैसाको व्यवस्था गरिदिन प्रसाईंसँग अनुरोध गरेका थिए। तर आफ्नो भनेर प्रसारित त्यो आवाज आफ्नो नभएको दाबी सांसद श्रेष्ठले गरेका थिए।
Shares
प्रतिक्रिया