ad ad

राजनीति


प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिम साता

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिम साता

बाराको चुनावी सभामा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण तयारी सुरु भएको छ। 

परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव भरतराज पौड्यालले भारत भ्रमणबारे सम्बद्ध अधिकारीहरुसँग परामर्श थालेका छन्। 

तयारीकै सिलसिलामा बिहीबार दिनभर भ्रमणसँग सम्बद्ध विभिन्न मन्त्रालय सरकारी निकायका अधिकारीहरुसँग मन्त्री र सचिवले बैठक गरेका छन्।   

स्रोतका अनुसार, प्रधानमन्त्रीको भ्रमण वैशाख अन्तिम साता गर्ने गरी मन्त्रालयले तयारी थालेको हो। 

‘अहिलेसम्मको स्थितिमा १० मे (२७ वैशाख) यता भ्रमण हुने देखिँदैन’ स्रोतले भन्यो, ‘१०–१७ मेको बीचमा हुने गरी तयारी थालिएको छ।’

प्रधानमन्त्री प्रचण्डले प्राथमिकताको शीर्ष स्थानमा राखेकैले ३ वैशाखमा कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भइसकेका छन्। 

नेपाली कांग्रेसका भागमा परेका केही मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन्।

सरकारको नेतृत्व सम्हालेलगत्तै प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए। 

तर, राष्ट्रपति निर्वाचनका सम्बन्धमा एमालेसँग किचलोका कारण तत्काल उनको नयाँदिल्ली भ्रमण हुन सकेन।

एमालेसँगको समीकरण भत्किएपछि राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका कारण उनको भ्रमण मिति तय हुन सकेको थिएन। 

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनपछि पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइले भ्रमण मिति तय हुन सकेन।
‘परराष्ट्रमन्त्री नियुक्तसँगै मन्त्रालयको प्रधानमन्त्रीको भारत भ्रमणलाई केन्द्रमा राखेर काम थालिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पैशाख अन्तिमसाता हुने गरी भ्रमणको तयारी गरिएको छ।’ 

यद्यपि बिहीबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण तय भइनसकेकोे बताएकी छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने कुरा भए पनि टुंगो लागिनसकेको बताइन्। 

‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ। तर मिति तय भइसकेको छैन। भारत छिमेकी राष्ट्र हो। छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जाँदा के कस्ता विषयहरुमा छलफल गर्ने भनेर मन्त्रालयहरुबाटै तयारी गरेर मन्त्रिपरिषदबाट निर्णय भएर नै छलफलका विषयहरु छनोट हुने हो,’ उनले भनिन्, ‘अहिले छलफलको विषय प्राथमिकीकरण भएको छैन।’  

उनले भारत भ्रमणमा दुई देशीय हित, सीमा सम्बन्धी विषयहरु, कृषि, पुर्वाधार विकास लगायत विषयहरुमा नियमित संवाद नै हुन सक्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .