ad ad

कारोबार


कर कार्यालयका हाकिमलाई अर्थमन्त्रीले भने- अनुशासन देखाउनुस्

कर कार्यालयका हाकिमलाई अर्थमन्त्रीले भने- अनुशासन देखाउनुस्

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:५८, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभाग तथा विभागअन्तर्गतका कार्यालयका हाकिमहरुलाई अनुशासन देखाएर काम गर्न निर्देशन दिएका छन्।

राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमानदारिता र अनुशासन देखाउन अर्थमन्त्री महतले निर्देशन दिएका हुन्। 

बिहीबार आन्तरिक राजस्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री महतले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ। राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो।’

विभिन्न परिस्थितिजन्य अवस्थाले यसपटक राजस्व निक्कै कम संकलन हुन गएको हो। गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखिएको भन्दै तथ्याङ्क समेत पढेका थिए।

उनले भने, ‘यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन, राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजस्वमा कमी आएको देखिन्छ।’

अर्थमन्त्री महतले सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्नेबाहेक अर्को कुनै एजेन्डा आफूसँग नरहेको बताए।

काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालयहरु रहेका छन्। ती राजस्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ। 

बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमानदारिता तथा महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुराहरुलाई गम्भीरतापूर्वक लिन जरुरी छ। यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसात् गरी लक्षित राजस्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्न उनले आग्रह गरे। 

कर प्रमुखहरुलाई प्रश्न गर्दै उनले समीक्षा प्रतिवेदनले एउटा राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिएको उल्लेख गरे।

उनले भने, ‘एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ?’

झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउने बताउँदै उनले गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको बताए। यसमा कहाँनेर त्रुटि भयो, त्यसको समीक्षा हुन जरुरी रहेको मन्त्री महतको भनाइ छ।

‘तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ’, उनले भने, ‘समस्या पहिचान हुनुर्पयो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .