संसदीय समितिका ५ सभापति माग गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एउटा प्रस्तावमा सहमत भए ५ वटा सभापतिबाट पछि हट्न सकिने प्रस्ताव गरेका छन्।
शुक्रबार अढाई घन्टा एक्लै प्रधानमन्त्रीलाई सिंहदरबारको गोप्य रुममा भेटेका ओलीले संसदीय समिती गठनमा सहमति गर्ने भए नयाँ प्रस्ताव मान्नुपर्ने बताएका हुन्।
यदी संसदीय समितिमा ५ वटा सभापति दिन नसक्ने भए मिलेर प्रदेश सरकार चलाउनुपर्ने प्रस्ताव ओलीले गरेका हुन्।
जसमध्ये, उनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीका खगराज अधिकारीलाई सहयोग गर्नुपर्ने नयाँ प्रस्ताव राखेको स्रोतले जनाएको छ।
उनको प्रस्तावबारे जानकार स्रोतले नेपालखबरसँग भन्यो, ‘यो प्रस्ताव गर्नका लागि ओलीले गोप्य कोठामा समेत जान चाहेका थिए।’
प्रधानमन्त्रीको औपचारिक भेटघाट कक्षमा केही भिडभाड भएपछि ओली–प्रचण्ड गोप्य कोठामा बसेर झण्डै साढे २ घन्टा छलफल गरेको स्रोतको दाबी छ।
यसअघि बुधबार बसेको बैठकमा ओलीले संसदीय समिति र प्रधानन्यायाधीश नियुक्तिको विषयमा मात्र चासो राखेका थिए।
‘अस्तिको भेटमा केही कुरा भएको थिएन। ओलीले संसदीय समितिका सभापति माग गरेका थिए,’ स्रोतले भन्यो, ‘आज स्ट्रंग्ली गण्डकी प्रदेशको मुख्यमन्त्री मागेको जस्तो बुझिन्छ।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू सत्ता गठबन्धनमा भएको भन्दै यसबारे कुनै जवाफ दिएका छैनन्। ‘मत गठबन्धनमा छु नि,’ प्रचण्डले ओलीलाई भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यसबारे अहिले मैले निर्णय लिने कुरै हुँदैन।’
प्रचण्डसँगको भेटपछि ओलीले एमाले संसदीय दलको कार्यालय पुगेर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गरेका थिए।
देउवालाई प्रचण्डको ब्रिफिङ
सिंहदरबारमा ओलीसँग भएको भेटघाटका बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो राखेका छन्।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका देउवाले ओलीसँगको भेटबारे चासो राखेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री आफैंले देउवालाई बोलाएर ओलीसँगको भेटबारे ब्रिफिङ गरेको स्रोतले बताएको छ।
Shares
प्रतिक्रिया