राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन (१८ मंसिर २०७८) मा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई दोष लगाउँदै डेढ दशकदेखि नेतृत्व गरेको पार्टी नै छाडे। निर्मल निवासको ‘नांगो हस्तक्षेप’का कारण आफ्नो हार भएको आरोप लगाउँदै थापाले त्यसबेला पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीलाई किटेरै ट्विटहरू गरे। त्यसपछि उनले राजतन्त्रको एजेन्डै परित्याग गर्दै राप्रपा नेपाल पुनर्गठन गरे र त्यसको अध्यक्ष बने। त्यसयता उनले राजा, राजतन्त्र र आफ्नो पूर्वपार्टी राप्रपासहित यसका पक्षधरविरुद्ध निरन्तर टिप्पणी गरिरहेका थिए।
तर त्यसयता पहिलोपटक राप्रपा नेपालका अध्यक्ष थापा पूर्वराजाप्रति सकारात्मक देखिएका मात्र छैनन्, उनका पक्षमा वकालतै गरेका छन्।
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालका तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गर्ने दिन बिहीबार बिहानै उनले त्यसमा पूर्वराजा ज्ञानेन्द्रलाई पठाउन सरकारसँग आग्रह गरेका हुन्।
सरकारले कूटनीतिक सुझबुझ राख्ने हो भने बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व पूर्वराजा ज्ञानेन्द्रबाट गराउनु राष्ट्रहितका पक्षमा हुने दाबीसमेत उनले गरेका छन्। यद्यपि यो खबर तयार पार्दासम्म चार्ल्सको राज्याभिषेकमा पर्यटनमन्त्री बेलायत प्रस्थान गरिसकेका छन्।
त्यसअघि अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेको कुरा यस्तो छ– नेपाल सरकारले सदाशयता र कूटनीतिक सुझबुझ राख्ने हो भने संयुक्त अधिराज्यका राजा चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुनेछ। नेपाली र बेलायती राजपरिवार बीचको आत्मीय सम्बन्धलाई देशहितमा सदुपयोग गर्नु उपयुक्त हुन्छ।
राप्रपाको नेतृत्वबाट पहिलोपटक बाहिरिन परेपछि राजतन्त्र र पूर्वराजा ज्ञानेन्द्रसँग रुष्ट थापा फेरि नजिकिन थालेका हुन् त?
Shares
प्रतिक्रिया