ad ad

राजनीति


माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- अध्यक्षको विकल्प होइन, उत्तराधिकारी तय गरौं

माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- अध्यक्षको विकल्प होइन, उत्तराधिकारी तय गरौं

नेपालखबर
साउन २०, २०८० शनिबार १८:१६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उनले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताए।

‘भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ। यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ’, पुनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ।’

पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उनले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए। उनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे। 

‘अहिलेको समस्या विचारभन्दा विधिको हो। विधान सम्मेलनबाट यसलाई हल गरौँ। उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ’, उनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु।’

अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे।

पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उनले गुनासो गरे।

पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए।

‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ। नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ। समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ,’ उनले भने।

उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिए।

‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .