ad ad

राजनीति


माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले पठाएका सामग्री अनिवार्य पोष्ट गर्नुपर्ने
माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

नेपालखबर
साउन २१, २०८० आइतबार २१:४०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ।

राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो।
 
त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ/सात लाइनको हुनुपर्नेछ। माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
 

स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ।

यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडिओ, भिडिओ, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ।
 

माओवादीले प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ।

आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ।
 
यसैगरी पार्टीको वेबसाइट निर्माण गरी तीनमहिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने माओवादीले जनाएको छ।

माओवादीले कम्तीमा १५ दिनको एकपटक केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी नीति, निर्णय र कामहरू सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।
 
पार्टी केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनुपर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, पार्टीको नीति र नेतृत्वको विरूद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरूत्साहित गर्ने माओवादीको नीति छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .