ad ad

समाज


रिहा भए ११ घण्टा बिजुलीको पोलमा बसेपछि पक्राउ परेका माझी

रिहा भए ११ घण्टा बिजुलीको पोलमा बसेपछि पक्राउ परेका माझी

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १३:२७, काठमाडौँ

शनिवार बिहान  बिजुलीको हाइटेन्सन लाइन प्रसारण भएको पोलमा ११ घण्टा बिताएका मोरङ बुढीगंगाका दिनेशकुमार माझी रिहा भएका छन्।

राष्ट्रिय प्रसारण लाइनको बिजुलीको पोलमा चढेका माझीलाई कारवाहीका लागि कानुन नहुँदा आइतबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले बताए।

‘सामान्य मागलाई सम्बोधन गराउन माझीले गलत अभ्यास गरेको देखिन्छ,’ प्रवक्ता दाहालले भने, 'तर यस्तो हर्कत गर्ने व्यक्तिलाई आवश्यक कारवाही गर्न विद्युत ऐनमा पनि प्रष्ट व्यवस्था रहेनछ, जसकारण फेरि यस्तो कार्य नगर्ने मोखिक सहमतिमा छाडेका छौँ।’

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै शनिवार विहान ५ बजे घर नजिकै रहेको हाइटेन्सन लाइनको पोलमा चढेका थिए।

दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेनन्। माझीले आफनो माग सुनुवाइ गर्न माग राख्दै  १ लाख ३२ हजार भोल्ट विद्युत दौडिरहेको पोलमा ११ घण्टा बसेर बिताएका थिए। पोलमा ११ घण्टा बिताएका माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारुले आफनो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती ओह्राल्न चुनौती थियो।

बुढीगंगाका अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका थिए। ओर्लनेबित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको थियो। माझी पोलमा चढेको जानकारी गराइए पनि विद्युत प्राधिकरणले बिजुली काटेको थिएन। 

उनले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले तत्काल काम रोकेर गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने शर्त राखेका थिए।

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका कारण लामो समय माझी पोलमै बसेका थिए। अध्यक्ष र उपाध्यक्ष धनकुटाबाट फर्केर सिघै घटनास्थलमा पुगेर माग सम्बोधन गरेपछि उनी पोलबाट ओर्लिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .