आज (बुधबार) पहाडी क्षेत्रका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भेगका केही स्थानमा साथै लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
‘खासगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् वरुण पौडेलले भने।
काठमाडौं उपत्यकामा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना देखिएको उनले बताए।
अहिले प्रिमनसुन भएकाले मेघगर्जन र चट्याङसहित पानी पर्छ। ‘खासगरी दिउँसो २ बजेपछि वर्षाको सम्भावना हुन्छ’, उनले भने।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाको बिहानी बुलेटिनमा भनिएको छ, ‘कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।’
Shares
प्रतिक्रिया